Butwal Today

कोसी प्रदेशमा स्थानीय पोसाक ढाका–खाँडी–अल्लोको प्रयोग

३० असार २०८३, मंगलवार
अ+
अ-

कोसी । कोसी प्रदेश सरकारले स्थानीय उत्पादन र रैथाने सीपको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारी कर्मचारीलाई हप्तामा दुई दिन स्थानीय उत्पादनका पोसाक लगाउने अभियान सुरु गरेको छ। आर्थिक वर्ष २०८२ /८३ को नीति तथा कार्यक्रमअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरू मंगलबारदेखि ढाका, खाँडी र अल्लोबाट बनेका पोसाक लगाएर कार्यालय उपस्थित भएका हुन्।

मन्त्रालयका कर्मचारीले यो अभियान स्थानीय उत्पादनको प्रदर्शन मात्र नभई प्रदेशको मौलिकता, सीप र घरेलु उद्योगलाई प्रोत्साहन गर्ने महत्वपूर्ण सुरुआत भएको बताएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस अभियानलाई स्थानीय उत्पादन प्रवर्द्धनका लागि “सानो तर अत्यन्तै महत्त्वपूर्ण” कदमको संज्ञा दिएका छन्। अभियान प्रभावकारी बनाउन प्रदेश सरकारले कर्मचारीलाई वार्षिक प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ अतिरिक्त पोसाक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।

सरकारका अनुसार यस व्यवस्थाले प्रदेशभित्रका ढाका, खाँडी र अल्लोजस्ता रैथाने कपडा उत्पादन तथा घरेलु उद्यमलाई बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि स्थानीय तहहरूले पनि यो अभियान लागू गर्न चाहे लागत साझेदारीमार्फत बजेट व्यवस्थापन गर्ने नीति लिएको जनाएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव उद्धव रिजालले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने सरकारी नीतिअनुसार कर्मचारीले एकैपटक एउटै प्रकारको पोसाक प्रयोगमा ल्याएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?