© 2026
बुटवल । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीसहित सरोकारवाला निकायले पाल्पाको सिद्धबाबा पहिरो जोखिम क्षेत्र तथा निर्माणाधीन सिद्धबाबा सुरुङ्ग मार्गको स्थलगत निरीक्षण गरेका छन्।
मंगलबार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित उक्त क्षेत्रमा गरिएको निरीक्षणमा तिनाउ गाउँपालिकाका अध्यक्ष, सिद्धबाबा सुरुङ्ग मार्ग आयोजनाका प्रमुख तथा अन्य सरोकारवाला सहभागी थिए। निरीक्षणका क्रममा पहिरोको वर्तमान जोखिम अवस्था, सवारी आवागमन, सुरक्षात्मक व्यवस्था तथा सुरुङ्ग निर्माणको प्रगतिबारे जानकारी लिइएको थियो।
प्रदेश प्रहरी प्रमुख खत्रीले सम्भावित विपद् तथा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित प्रहरी इकाईलाई निर्माण पक्षसँग प्रभावकारी समन्वय गरी सुरक्षित सवारी आवागमन सुनिश्चित गर्न निर्देशन दिएका छन्। साथै, कुनै पनि आकस्मिक घटना भएमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन्।