Butwal Today

सुस्तामा सुरक्षा व्यवस्था कडा, सशस्त्र र सेनाको उपस्थिति बढाइयो

२९ असार २०८३, सोमबार
अ+
अ-

बुटवल । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा सरकारले सुरक्षा उपस्थिति उल्लेखनीय रूपमा बढाएको छ।

गृह मन्त्रालयले असार १९ गते जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्राचार गर्दै सीमावर्ती क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्न तथा स्थानीय नागरिकका समस्या समाधानमा सक्रिय हुन निर्देशन दिएको थियो। सोही निर्देशनपछि सुस्तामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा रहेको २५ सदस्यीय सुरक्षा टोलीलाई बढाएर ४० सदस्यीय बनाइएको छ। त्यसपछि असार २२ गते जर्नेल यमबहादुर अधिकारी प्रतीक्षाको नेतृत्वमा नेपाली सेनाको टोली पनि सुस्ता पुगेको थियो।

यसैक्रममा आइतबार सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० अन्जनी पोखरेलले सुस्ता पुगेर सुरक्षा अवस्थाको स्थलगत निरीक्षण गरेका छन्। उनले सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था, सुरक्षाकर्मीको परिचालन तथा स्थानीय अवस्थाबारे जानकारी लिएका थिए। सुस्तामा हाल तटबन्ध निर्माणको काम भइरहेको छ। करिब डेढ महिनाअघि निर्माणका क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का सुरक्षाकर्मी नेपाली भूभागतर्फ आएर निर्माण कार्य रोक्न आग्रह गरेको घटना सार्वजनिक भएको थियो। त्यसपछि सीमावर्ती क्षेत्रको सुरक्षा र सरकारी उपस्थितिलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको हो।

सुरक्षा उपस्थिति बढाइएपछि भारतीय पक्षले पनि यस विषयमा चासो व्यक्त गरेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।सरकारले सीमावर्ती क्षेत्रको सुरक्षा सुदृढ बनाउने, स्थानीय बासिन्दाको संरक्षण सुनिश्चित गर्ने तथा विकास निर्माणका कामलाई निर्बाध रूपमा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?