Butwal Today

शंकास्पद रूपमा छाडिएका गाडीका धनी भेटिए ५०० रुपैयाँ जरिवाना

२९ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौं । सोमबार काठमाडौंका विभिन्न स्थानमा शंकास्पद रूपमा बेवारिसे छाडिएका गाडीका धनी वा चालक सम्पर्कमा आए वा पक्राउ परेमा उनीहरूलाई ट्राफिक नियम उल्लंघनअन्तर्गत ५०० रुपैयाँसम्म जरिवाना गरिने भएको छ।

प्रहरीका अनुसार हालसम्मको अनुसन्धानमा घटनामा आपराधिक उद्देश्य पुष्टि भएको छैन। गाडीभित्र विस्फोटक वा अन्य शंकास्पद सामग्री पनि फेला नपरेकाले तत्काल कुनै फैजदारी मुद्दा दर्ता, थुनछेक वा धरपकडको प्रक्रिया अघि नबढाइएको जनाइएको छ। हाल ती गाडीहरू रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार गाडीधनीको पहिचान गर्न यातायात व्यवस्था विभागसँग विवरण मागिएको छ।

उनका अनुसार गाडीधनी सम्पर्कमा आएपछि यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार कारबाही गरिनेछ। उक्त व्यवस्थाअनुसार सार्वजनिक स्थानमा अरूलाई बाधा पुग्ने गरी सवारीसाधन राख्न नपाइने र पहिलो पटक यस्तो कसुर गरेमा ५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ।

सोमबार नेपाली कांग्रेसका सभापति गगन थापाको निवास, कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर, हिमालय टेलिभिजन तथा भाटभटेनी सुपरस्टोरअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएका थिए। घटनापछि सुरक्षा निकायले ती सवारीसाधनको विस्तृत जाँच गरी अनुसन्धान अघि बढाएको थियो।

यसैबीच, नेपाल पत्रकार महासंघले भने घटनालाई सामान्य ट्राफिक उल्लंघनका रूपमा मात्र लिएर टुंग्याउन नहुने जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले घटनाको वास्तविक उद्देश्य, योजनाकार र संलग्न व्यक्तिबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।उनले केवल ५०० रुपैयाँ जरिवानामै विषय टार्ने प्रयास गरिए त्यसलाई पत्रकारितामाथिको गम्भीर दबाब तथा ‘राज्य आतंक’ को रूपमा बुझिने चेतावनीसमेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?