© 2026
काठमान्डौँ ।
गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने तयारी गरेको छ ।
जाहेरी दिन परिवारका सदस्यहरू प्रहरी वृत्त कालीमाटी पुगेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार जाहेरी दर्ता भएपछि कानुनी प्रक्रिया अघि बढाइनेछ ।
‘हरेक अप्राकृतिक मृत्युको घटनामा प्रहरीमा जाहेरी दर्ता हुन्छ । त्यसपछि कानुनी प्रक्रिया सुरु हुन्छ। पोस्टमार्टम गरी शव परिवारलाई जिम्मा लगाइन्छ । अनुसन्धानका क्रममा मुद्दा चलाउनुपर्ने अवस्था देखिए सोहीअनुसार प्रक्रिया अघि बढाइन्छ,’ एसपी भट्टराईले भने ।
यसअघि आइतबार नेपालीका परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि उत्पन्न विवादका क्रममा नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारका क्रममा भोलिपल्ट शुक्रबार उनको वीर अस्पताल मा मृत्यु भएको थियो ।
घटनापछि प्रहरीले सोधपुछका लागि महानगर प्रहरीका सम्बन्धित कर्मचारी तथा घटनाका प्रत्यक्षदर्शीलाई बोलाएको थियो । उनीहरूसँग बयान तथा घटना विवरण लिएपछि प्रहरीले छाडेको थियो ।
घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।