Butwal Today

समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित

२९ असार २०८३, सोमबार
अ+
अ-

बुटवल । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सलुन एन्ड एकेडेमीले १६० जना प्रशिक्षार्थीलाई दीक्षित गर्दै हेयर ड्रेसिङ तथा सौन्दर्यकला क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ।

सोमबार आयोजित विशेष दीक्षान्त समारोहमा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा हेयर ड्रेसिङ तथा सौन्दर्यकला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका अग्रज नाई नाथु श्रीवास्तव र ब्युटिसियन सुशीला श्रेष्ठलाई सम्मान गरिएको थियो। सौन्दर्य पत्रकारितामार्फत क्षेत्रको प्रवर्द्धनमा योगदान दिएको भन्दै पत्रकार भगवती पाण्डेलाई पनि सम्मान प्रदान गरिएको छ। त्यसैगरी, एकेडेमीको उत्कृष्ट कर्मचारीका रूपमा लक्ष्मी विश्वकर्मालाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले हेयर ड्रेसिङ पेशा केवल सीपमा सीमित नरही आत्मनिर्भरता, सम्मानजनक रोजगारी र उद्यमशीलताको आधार बनेको बताए। उनले आफूले रोजेको पेशाप्रति समर्पित भएर काम गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उल्लेख गर्दै व्यक्तित्व विकास, व्यावसायिक व्यवहार र ग्राहकको विश्वास नै सफलताको आधार हुने बताए।बानियाँले बजारमा हेयर ड्रेसिङ तथा ब्युटी क्षेत्रको सम्भावना अझै व्यापक रहेको उल्लेख गर्दै “सीप नै सबैभन्दा ठूलो लगानी हो, जसले विश्वको जुनसुकै कुनामा पनि रोजगारीको ढोका खोल्छ,” भने।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक गैरेले सीपमूलक शिक्षाले युवालाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता संस्थाको योगदान प्रशंसनीय रहेको धारणा राखे। आईएसओका प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले निर्धारित मापदण्डअनुसार गुणस्तरीय तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए। उनले आगामी दिनमा पनि गुणस्तर र व्यावसायिकतालाई निरन्तरता दिन आग्रह गरे।

एकेडेमीका सञ्चालक मोहन ठाकुरले संस्थाको सुरुवाती यात्रादेखि हालसम्मको प्रगति प्रस्तुत गर्दै हालसम्म करिब ३ करोड रुपैयाँ लगानी भइसकेको जानकारी दिए। उनका अनुसार संस्थाले देशभर ५० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ भने तालिम प्राप्त सयौं युवाले स्वरोजगार तथा विभिन्न संस्थामा रोजगारी पाइसकेका छन्।उनले उच्च दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले बुटवलमा आधुनिक पूर्वाधारसहितको एकेडेमी सञ्चालन गरिएको र एकैपटक ४० जनासम्मलाई व्यावसायिक तालिम दिन सक्ने क्षमता रहेको बताए।

कार्यक्रममा सहभागीहरूले समृद्धि एकेडेमीले सञ्चालन गरिरहेको सीपमूलक तालिमले हेयर ड्रेसिङ र सौन्दर्यकला क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र रोजगारीमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?