© 2026
बुटवल । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले काठमाडौंस्थित कान्तिपुर सञ्चार गृह, अनलाइनखबर र हिमालयन टेलिभिजनका कार्यालय परिसर तथा प्रवेशद्वारमा सवारी साधन पार्किङ गरी नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्थामा स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चारमाध्यम लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कुनै पनि बहाना वा असन्तुष्टिको नाममा सञ्चार संस्थाको नियमित कार्यमा अवरोध पुर्याउने, पत्रकार तथा सञ्चारकर्मीलाई मानसिक दबाबमा पार्ने वा सञ्चारमाध्यमलाई त्रसित बनाउने गतिविधि नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको जनाएको छ।
विज्ञप्तिमा कुनै सञ्चारमाध्यमको समाचार, सम्पादकीय नीति वा प्रकाशन सामग्रीप्रति असहमति भए त्यसको समाधान कानुनी, संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने उल्लेख गर्दै दबाब, घेराउ, अवरोध, धम्की वा त्रास सिर्जना गरी सञ्चारमाध्यमलाई प्रभावित पार्ने कार्य सभ्य लोकतान्त्रिक समाजमा स्वीकार्य नहुने स्पष्ट पारिएको छ।
संघले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्न तथा यस्ता घटना पुनः नदोहोरिने गरी सञ्चार संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। साथै, प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुने अधिकार तथा स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि सम्पूर्ण सञ्चार संस्था, पत्रकार, सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध सबै संघ–संस्थालाई एकताबद्ध हुन आह्वान गरिएको छ।
संघका अध्यक्ष नवराज कुँवर र महासचिव माधव नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि हुने जुनसुकै प्रकारका दबाब, धम्की, अवरोध तथा त्रास सिर्जना गर्ने गतिविधिविरुद्ध सधैं स्पष्ट, दृढ र एकताबद्ध रूपमा उभिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।