© 2026
चितवन । लगातारको अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्ने जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै सडकखण्ड थप जोखिमपूर्ण बनेकाले उक्त मार्ग हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोकिएको जनाएको हो। प्रशासनले काठमाडौं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाडौंतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न आग्रह गरेको छ। लगातारको वर्षा र पहिरोका कारण सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको प्रशासनको भनाइ छ।
यात्रामा रहेका तथा यात्रा गर्ने तयारीमा रहेका सर्वसाधारणलाई खानेपानी, सुक्खा खाना, प्राथमिक उपचारका औषधि, अतिरिक्त लुगा र मोबाइल चार्जरजस्ता अत्यावश्यक सामग्री साथमा राख्न पनि प्रशासनले अनुरोध गरेको छ।शासनले मौसममा सुधार र सडक सुरक्षित भएपछि मात्र सडक सञ्चालनबारे नयाँ सूचना जारी गरिने जनाएको छ।
आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।