Butwal Today

जेठसम्म चालू खाता ८ खर्ब २ अर्ब बचतमा, शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब नाघ्यो

२९ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौं चालु आर्थिक वर्ष २०८२ /८३ को पहिलो ११ महिनामा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकहरू उल्लेखनीय रूपमा सुधारिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म चालू खाता, शोधनान्तर स्थिति तथा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई सबैमा उल्लेख्य वृद्धि भएको छ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार जेठ मसान्तसम्म चालू खाता ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा चालू खाता ३ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोड डलर बचतमा रहेको चालू खाता यस वर्ष ५ अर्ब ५३ करोड डलर बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी इक्विटी मात्र २२ अर्ब ८२ करोड रुपैयाँ भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो। राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति पनि उल्लेखनीय रूपमा सुधार हुँदै ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँले बचतमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ३ अर्ब ६२ करोड डलर बचतमा रहेकामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ६ अर्ब ३९ करोड डलर बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाहमा भएको उल्लेखनीय वृद्धि, बाह्य क्षेत्रको सुधार र विदेशी मुद्रा आर्जनमा भएको विस्तारले चालू खाता तथा शोधनान्तर स्थितिमा उल्लेखनीय सुधार देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?