© 2026
बाँके । बाँकेको राप्ती नदीको कम्दी क्षेत्रमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्काको खोजी जारी छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव आइतबार फेला परेको हो। सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जारी राखेको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो दुवै बालबालिका पौडी खेल्न भन्दै घरबाट निस्किएका थिए। साँझसम्म घर नफर्केपछि अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए।
भैँसी गोठालाले उनीहरू नदीमा डुबेको घटना देखेपछि शनिबार राति परिवारलाई खबर गरेका थिए। त्यसलगत्तै सुरक्षा निकायले खोजी तथा उद्धार अभियान सुरु गरेको थियो। प्रहरीले नदी तथा आसपासका क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।