Butwal Today

रवि–बालेनबीच चार घण्टा छलफल, सरकारको समीक्षा र रास्वपा विधानमा केन्द्रित

२८ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच आइतबार लामो भेटवार्ता भएको छ।

बिहान करिब साढे ११ बजे एक्लै रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका प्रधानमन्त्री बालेन दिउँसो करिब सवा ३ बजे मात्रै बाहिरिएका थिए। दुवै नेताबीच करिब चार घण्टा विभिन्न राजनीतिक र समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार भेटमा सरकारको सय दिनको कार्यसम्पादन समीक्षा, पछिल्लो समय सरकारप्रति बढ्दो असन्तुष्टि, सुकुम्बासी व्यवस्थापन, पार्टी पदाधिकारी मनोनयन तथा मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा छलफल भएको थियो।छलफलमा रास्वपाको विधानका केही प्रावधानबारे पनि कुराकानी भएको बताइएको छ। विशेषगरी संसदीय दलको नेता परिवर्तन गर्न सकिने व्यवस्था र वरिष्ठ नेताको मनोनयनसम्बन्धी प्रावधानमा बालेन पक्षले असन्तुष्टि जनाएको स्रोतको दाबी छ।

रास्वपाको विधानअनुसार पार्टीमा वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था छ। तर बालेन र रवि पक्षबाट कसलाई मनोनयन गर्ने भन्ने विषय अझै टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ। सार्वजनिक विधानमा सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरेमा संसदीय दलको नेताको पद रिक्त हुन सक्ने व्यवस्था छ। त्यस्तै संसदीय दलभित्र अविश्वास प्रस्ताव वा प्रत्याह्वान पारित भएमा पनि दलको नेताको पद रिक्त हुने प्रावधान राखिएको छ।

यिनै व्यवस्थालाई लिएर दुवै पक्षबीच मतभेद देखिएको स्रोतको भनाइ छ। यद्यपि भेटवार्तापछि प्रधानमन्त्री बालेन वा सभापति लामिछानेले औपचारिक प्रतिक्रिया दिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?