© 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फिफा विश्व वरीयताको शीर्ष चार टोलीले स्थान बनाएका छन् । फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड अन्तिम चारमा पुग्न सफल भएका हुन् ।
ताजा फिफा विश्व वरीयताअनुसार फ्रान्स दुई स्थान सुधार गर्दै १ हजार ९४८.९७ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । अर्जेन्टिना १ हजार ९४३.४७ अङ्कसहित दोस्रो, स्पेन १ हजार ९३४.७९ अङ्कसहित तेस्रो तथा इंग्ल्यान्ड १ हजार ८८९.४२ अङ्कसहित चौथो स्थानमा रहेका छन् ।
क्वार्टरफाइनलमा मोरक्कोलाई पराजित गरेको फ्रान्सले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । यस्तै, स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा पुगेको अर्जेन्टिनाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनलका दुवै खेल आगामी बुधबार र बिहीबार राति हुनेछन् । यी खेलबाट फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लाग्नेछ ।
तेस्रो स्थानका लागि खेल आगामी आइतबार राति २ः४५ बजे हुनेछ भने उपाधिका लागि फाइनल सोमबार बिहान १२ः४५ बजे खेलाइनेछ ।
यस संस्करणको विश्वकपमा ४८ टोली सहभागी भएका थिए । तीमध्ये ४४ टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् भने कुल १०४ खेलमध्ये १०० खेल सम्पन्न भइसकेका छन् । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा विश्वकपको आयोजना गरेका हुन् ।