Butwal Today

क्यानडा पठाइदिने भन्दै साढे २ करोड ठगी आरोपमा पूर्वमाओवादी कमान्डर पक्राउ

२८ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौं । क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवतीबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौधरीलाई काठमाडौं महानगरपालिका–१५ र चन्द्रागिरि–५ क्षेत्रबाट पक्राउ गरेको हो। कैलालीका स्थायी बासिन्दा चौधरी लामो समयदेखि फरार रहेका थिए। प्रहरीका अनुसार चौधरीले क्यानडामा राम्रो रोजगारीको आश्वासन दिँदै पीडितहरूबाट प्रतिव्यक्ति ४ लाखदेखि १७ लाख रुपैयाँसम्म असुलेका थिए। रकम बुझाए पनि विदेश जान नसकेपछि पीडितहरूले पैसा फिर्ताको माग गरेका थिए।

प्रहरीले जनाएको अनुसार पीडितहरूलाई दिइएका चेकसमेत बाउन्स भएपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। त्यसपछि विभागको अनुरोधमा प्रहरीले चौधरीको खोजी तीव्र बनाएको थियो। पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइने प्रहरीले जनाएको छ।

प्रारम्भिक बयानमा चौधरीले आफूले सञ्चालन गरेको म्यानपावर कम्पनी बन्द भएका कारण रकम फिर्ता गर्न नसकेको र ठगी गर्ने नियत नभएको दाबी गरेका छन्। प्रहरीले भने घटनाका सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ।यस घटनापछि सम्बन्धित निकायले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट बच्न आधिकारिक प्रक्रिया र स्वीकृत संस्थामार्फत मात्रै विदेश जान सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?