© 2026
ढाका । भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने योजना सार्वजनिक गरेकी छन्। उनले अवामी लिगका वरिष्ठ नेताहरू पनि आफूसँगै कानुनी प्रक्रियामा सहभागी हुने बताएकी छन्।
रोयटर्ससँगको अन्तर्वार्तामा हसिनाले पार्टीका अधिकांश नेतामाथि विभिन्न मुद्दा दर्ता भएकाले धेरैजना लुकेर बस्न बाध्य भएको बताइन्। यद्यपि उनले स्वदेश फर्किने निश्चित मिति भने खुलाएकी छैनन्। सन् २०२४ मा सरकारविरोधी आन्दोलनपछि भारत पुगेकी हसिनाविरुद्ध विद्यार्थी आन्दोलन दमनसँग सम्बन्धित मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो। उनले ती आरोपलाई राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै अस्वीकार गरेकी छन्।
हसिनाले आफ्नो फिर्तीबारे वर्तमान सरकारसँग कुनै संवाद नभएको बताउँदै राजनीतिक अधिकार, लोकतन्त्र र निष्पक्ष निर्वाचनजस्ता विषय गोप्य वार्ताबाट समाधान हुन नसक्ने धारणा व्यक्त गरिन्।उनले बंगलादेश सरकारले आफूलाई फिर्ता ल्याउन भारतसँग पहल गरिरहेको दाबी गर्दै अन्ततः आफैं स्वदेश फर्किने बताइन्। “म जेलसँग डराउँदिन, मलाई आफ्नै देशको माटोमा बाँच्न र मर्न मन छ,” उनले भनिन्।
यसैबीच संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा सन् २०२४ को आन्दोलनका क्रममा करिब १,४०० जनाको मृत्यु भएको उल्लेख गरिएको छ। सोही घटनासँग सम्बन्धित मुद्दामा हसिनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ।
उता, सावरमा हसिनाविरोधी कार्यक्रममा बम विस्फोट हुँदा तीन जना घाइते भएका छन्। कार्यक्रममा नाहिद इस्लामसहित एनसीपीका नेताहरू उपस्थित थिए। घटनाको कारण खुल्न बाँकी रहेको र त्यसबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्।