© 2026
काठमाडौँ । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमका लागि ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलोपटक पुनःप्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार लङ मार्च–१०बी रकेटले शुक्रबार दक्षिणी चीनको हाइनानबाट सफल उडान भरेपछि यसको बुस्टर सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको हो।
चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनका अनुसार स्थानीय समयअनुसार दिउँसो १२ १५ बजे प्रक्षेपण गरिएको रकेटको माथिल्लो भाग छुट्टिएको करिब ६ मिनेटपछि बुस्टर ठाडो रूपमा अवतरण गर्दै समुद्रमा रहेको विशेष फ्लोटिङ प्लेटफर्ममा सुरक्षित रूपमा अवतरण गरिएको थियो।
यो उपलब्धिसँगै चीन पुनःप्रयोगयोग्य रकेट प्रविधिमा अमेरिका र स्पेसएक्स तथा ब्लु ओरिजिन सँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको विश्लेषण गरिएको छ। सामान्यतया अन्तरिक्षमा प्रक्षेपण गरिएका रकेटका बुस्टरहरू प्रयोगपछि नष्ट हुने भएकाले अन्तरिक्ष अभियान निकै महँगो पर्ने गर्छ। तर पुनःप्रयोग गर्न मिल्ने बुस्टर प्रयोग गर्न सकिएमा उपग्रह प्रक्षेपण र अन्तरिक्ष अनुसन्धानको लागत उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
स्पेसएक्स ले सन् २०१५ मा पहिलोपटक फाल्कन–९ रकेटको सफल पुनःअवतरण गरेको थियो भने ब्लु ओरिजिन ले सन् २०२५ मा न्यु ग्लेन रकेटको सफल परीक्षण गरेको थियो।चीनले यसअघि फेब्रुअरीमा लङ मार्च–१०ए मार्फत पहिलो परीक्षण गरेको थियो। त्यसबेला बुस्टर नियन्त्रित रूपमा समुद्रमा अवतरण गराइएको थियो।
यसपटक भने लङ मार्च–१०बी ले विशेष ‘ल्यान्डिङ हुक’ प्रणाली प्रयोग गर्दै फ्लोटिङ प्लेटफर्ममा सुरक्षित अवतरण गरेर चीनको अन्तरिक्ष प्रविधिमा नयाँ अध्याय थपेको छ। यस सफल परीक्षणपछि चीनका अन्तरिक्ष कम्पनीहरूको सेयर मूल्यसमेत उल्लेखनीय रूपमा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।