© 2026
काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ ।
उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको शव राति करिब १० बजे शिक्षण अस्पताल पठाइएको हो ।
परिवार र सरकारबिच सहमति हुन नसकेकाले परिवारले हालसम्म शव बुझेका छैनन् । त्यसैले शव सुरक्षित राख्नुपर्ने भएकाले राति नै शिक्षण अस्पताल पठाइएको वीर अस्पतालका सूचना अधिकारी प्रकाश बुढाथोकीले जानकारी दिए ।
वीर अस्पतालमा शव सुरक्षित राख्ने मर्चरी चेन (फ्रिज) नभएकाले शव शिक्षण अस्पताल पठाइएको सूचना अधिकारी बुढाथोकीले बताए ।
सरकारले शुक्रबार गणेशका आफन्तसँग अनौपचारिक वार्ता गरेको थियो । तर, कुनै निष्कर्ष ननिस्किएपछि आज थप वार्ता गर्ने तयारी गरिएको छ ।
आफन्तले सरकारको ज्यादतीका कारण गणेश आत्मदाह गर्न बाध्य भएको आरोप लगाउँदै आन्दोलन सुरु गरेका छन् । गणेशले बिहीबार काठमाडौँ महानगर प्रहरीसँग भएको विवादपछि आत्मदाह गरेका थिए ।