Butwal Today

कर्णालीका राजमार्ग ‘मृत्युमार्ग’ १२ वर्षमा ६ हजार दुर्घटना

२७ असार २०८३, शनिबार
अ+
अ-

कर्णाली । कर्णाली प्रदेशका राजमार्गहरू विकासको आधारभन्दा पनि पछिल्ला वर्षहरूमा ‘मृत्युमार्ग’ का रूपमा चिनिन थालेका छन्। दैलेखको चामुण्डाबिन्द्रासैनी गाउँपालिका–७ साँगेतडामा फोर्स गाडी कर्णाली नदीमा खसेर भएको भीषण दुर्घटनाले फेरि एकपटक सडक सुरक्षाको कमजोर अवस्थालाई उजागर गरेको छ।

गत असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटना भएको आठ दिन बितिसक्दा पनि गाडी फेला परेको छैन। हालसम्म तीन जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी कार्य जारी छ। दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १७६ जना सुरक्षाकर्मी, गोताखोर, ड्रोन र हेलिकोप्टर परिचालन गरिए पनि नदीको तीव्र बहाव र धमिलो पानीका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

१२ वर्षमा ६ हजारभन्दा बढी दुर्घटना

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो १२ वर्षमा प्रदेशभर ६ हजार ६२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १ हजार ३७४ जनाको मृत्यु भएको छ भने ७ हजार ८९३ जना गम्भीर घाइते भएका छन्। त्यसमध्ये पछिल्ला तीन आर्थिक वर्षमै ४ हजार २४१ दुर्घटना, ३८३ जनाको मृत्यु र ६ हजारभन्दा बढी गम्भीर घाइते भएको तथ्यांकले सडक सुरक्षा झन् कमजोर बन्दै गएको देखाउँछ।

दुर्घटनाका मुख्य कारण

विशेषज्ञहरूका अनुसार कर्णालीका अधिकांश सडक साँघुरा, जीर्ण र जोखिमपूर्ण छन्। धेरै स्थानमा ट्राफिक संकेत, सुरक्षा बार, चेतावनी बोर्ड तथा नियमित मर्मतसम्भारको अभाव छ। साथै ओभरलोड, तीव्र गति, पुराना सवारीसाधन, यान्त्रिक खराबी र ट्राफिक नियम उल्लंघन दुर्घटनाका प्रमुख कारण मानिन्छन्। विकट भूगोलका कारण दुर्घटनापछि तत्काल उद्धार गर्न कठिन हुने भएकाले सामान्य दुर्घटना पनि धेरैका लागि ज्यान जाने घटनामा परिणत हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन्।

सुरक्षित सडकको माग अझै अधुरो

विश्व बैंकको सहयोगमा ट्र्याक खुलेको करिब दुई दशक बितिसक्दा पनि २३२ किलोमिटर लामो कर्णाली राजमार्ग को स्तरोन्नति प्रभावकारी रूपमा हुन सकेको छैन। स्थानीयवासीले वर्षौंदेखि सुरक्षित र व्यवस्थित सडकको माग गर्दै आए पनि सुधारको गति सुस्त रहेको गुनासो छ।

स्थानीयको भनाइमा कर्णालीका सडकले विकासभन्दा बढी पीडा र शोक दिएका छन्। सडक सुरक्षा, पूर्वाधार स्तरोन्नति र प्रभावकारी उद्धार प्रणालीलाई सरकारले प्राथमिकतामा नराखेसम्म यस्ता दुःखद दुर्घटना दोहोरिरहने चेतावनी विज्ञहरूले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?