Butwal Today

गणेश नेपालीको मृत्यु राजनीतिक बहसको विषय होइन : गगन थापा

२६ असार २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्र नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो घटना एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय भएको उल्लेख गरेका छन् ।

थापाका अनुसार यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो ।

‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ उनले लेखेका छन् ।

उनले मृतक गणेश नेपालीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ र उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे सबैले आ–आफ्नो ठाउँबाट सोचेर सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

‘विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ,’ थापाले भनेका छन् ।

उनले एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ, आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ भन्ने गम्भीर प्रश्न उठाएका छन् ।

‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छरु आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ?’ उनले लेखेका छन् ।

उनले राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने भए पनि किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्, समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ भन्ने विषयमा पनि आत्मचिन्तन आवश्यक रहेको बताएका छन् ।

थापाले यी प्रश्नहरूको इमानदार उत्तर खोज्दै भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?