© 2026
काठमान्डौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राइडर गणेश नेपालीको निधन राज्यको नीतिका कारण भएको आरोप लगाएका छन् ।
संसद्मा बोल्दै शाहीले ट्राफिक जरिवानासम्बन्धी नीतिका कारण नेपाली आत्मदाह गर्न बाध्य भएको दाबी गरे । उनले प्रश्न गर्दै भने, ‘काठमाडौं धनीहरूको मात्रै हो ?’
शाहीले सरकारका नीति तथा मन्त्रिपरिषद्का निर्णयहरू हेर्दा सरकार धनीहरूको पक्षमा रहेको तर गरिबका पक्षमा नदेखिएको टिप्पणी गरे । कर भने युरोप र अमेरिकाको जस्तै असुल्ने, तर नागरिकलाई सोहीअनुसार सुविधा नदिने अवस्था रहेको उनको भनाइ थियो ।
काठमाडौंमा गरिब नागरिकलाई बस्नसमेत कठिन हुँदै गएको उल्लेख गर्दै उनले यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
भक्तपुरमा श्रीमती र छोरीसँग डेरा गरी बस्दै आएका नेपाली राइड–सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले पार्किङमा राखेको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका प्रहरीले ह्विल लक लगाएर लैजान खोजेपछि उनले उक्त कदम चालेको बताइएको छ ।
यस घटनाबारे संसद्मा अन्य विपक्षी दलहरूले पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।