© 2026
बुटवल । वर्षा सुरु भएसँगै रुपन्देहीमा विषालु सर्प घरभित्र पस्ने घटना बढ्न थालेपछि सर्प उद्धारकर्ताले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
लगातारको वर्षा र बढ्दो गर्मीका कारण जमिनमुनि बस्ने सर्प ओभानो र सुरक्षित स्थान खोज्दै घर, गोठ तथा मानिसको बसोबास भएका क्षेत्रमा प्रवेश गर्न थालेको उनीहरूको भनाइ छ ।
तराईका जिल्लामध्ये रुपन्देही विषालु सर्पको उच्च जोखिम रहेको क्षेत्र हो । वैशाखदेखि असोज–कात्तिकसम्मको अवधिमा यहाँ दैनिक जसो सर्प उद्धारका घटना हुने गरेका छन् । अहिले विशेष गरी गोमन (कोब्रा), करेत र राजगोमन (किङ कोब्रा) बढी सक्रिय हुने समय भएकाले जोखिम बढेको उद्धारकर्ताहरू बताउँछन् ।
तिलोत्तमा क्षेत्रमा लामो समयदेखि सर्प उद्धार गर्दै आउनुभएका विशाल पाण्डेका अनुसार अहिले गोमन सर्पले अण्डा कोरल्ने समय चलिरहेको छ। यही कारण एउटै स्थानमा १० देखि ५० वा ६० वटासम्म बच्चा भेटिन सक्ने सम्भावना रहने उनले बताए ।
“पानी परेपछि सर्पहरू ओभानो स्थान खोज्दै घरभित्र पस्छन्,” उनले भने, “घर, आँगन, गोठ, भान्सा र झाडी आसपास विशेष सावधानी अपनाउनुपर्छ ।” पाण्डेले गत सोमबार र मङ्गलबार मात्रै बुटवल र तिलोत्तमाका दुई स्थानबाट १६ वटा गोमनका बच्चा उद्धार गरेका छन् । तिलोत्तमा नगरपालिका–१ नमुना टोलस्थित एक घरबाट १० वटा र त्यसको भोलिपल्ट बुटवलको देवीनगरबाट थप ६ वटा गोमनका बच्चा सुरक्षित उद्धार गरिएको उनले जानकारी दिए ।
उनका अनुसार सर्प देखिएमा आत्तिने, आफैँ समात्ने वा मार्ने प्रयास गर्नु जोखिमपूर्ण हुन्छ । “सर्पलाई नमार्नुहोस्, सुरक्षित दूरीमा बस्नुस् र उद्धारकर्तालाई खबर गर्नुहोस्,” उनले आग्रह गरे ।
रुपन्देहीमा एकै घरबाट ठूलो सङ्ख्यामा सर्प भेटिने घटना नयाँ भने होइन। पाण्डेले गत वर्ष तिलोत्तमा–५ प्रेमनगरस्थित एक घरबाट पाँच दिन लगाएर २३ वटा गोमनका बच्चा उद्धार गरेका थिए । घरधनी डिलाराम अर्याललाई भान्सामा सर्पले टोकेपछि खोजी गर्दा भान्साको र्याकमुनि कोब्राले गुँड बनाएर बच्चा कोरलेको अवस्थामा फेला परेको थियो ।
यसै वर्ष पनि बुटवलको योगीकुटीस्थित विद्युत् सबस्टेसन परिसरबाट १६ वटा अजिङ्गरका बच्चा उद्धार गरिएको छ । सर्प उद्धारकर्ता नवीन पौडेलले सबस्टेसन नजिकैको झाडीबाट ती अजिङ्गरका बच्चा सुरक्षित रूपमा उद्धार गरेका हुन् ।
अर्का सर्प उद्धारकर्ता चेतबहादुर सारु मगरका अनुसार गर्मी र वर्षाको संयुक्त प्रभावका कारण अहिले तराई क्षेत्रमा विषालु सर्पको गतिविधि उल्लेख्य रूपमा बढेको छ । जमिन तात्ने र वर्षाले बासस्थान प्रभावित हुने भएकाले सर्प सुरक्षित स्थानको खोजीमा घरभित्र पस्ने क्रम बढ्ने उनले बताए ।
उनले घर वरपरको झाडी सफा राख्ने, इँटा, दाउरा तथा फोहोरका थुप्रा हटाउने, राति हिँड्दा टर्च प्रयोग गर्ने, सुत्नुअघि ओछ्यान र जुत्ता–चप्पल जाँच गर्ने तथा बालबालिकालाई एक्लै झाडी वा घाँसे क्षेत्रमा नपठाउन आग्रह गरे ।
उद्धारकर्ताहरूका अनुसार सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर फाल्नु हुँदैन । बिरामीलाई शान्त राखेर प्रभावित अङ्ग कम चल्ने गरी तत्काल नजिकको स्वास्थ्य संस्थामा पु¥याउनु नै सबैभन्दा सुरक्षित उपाय हो ।
वर्षायामभर विषालु सर्पको जोखिम रहने भएकाले सर्वसाधारणले सतर्कता अपनाउन र सर्प देखिएमा उद्धारकर्तालाई खबर गरी सुरक्षित रूपमा व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने उद्धारकर्ताहरूको आग्रह छ ।