Butwal Today

संसद्मा महरको नाराबाजी – यो सरकार मुर्दावाद

२६ असार २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’को संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै महरले सरकारविरुद्ध संसद्मै नाराबाजीसमेत गरे । उनले वर्तमान सरकार जनताको सुरक्षा गर्नभन्दा उनीहरूलाई मृत्युको मुखमा धकेल्ने काममा लागेको आरोप लगाए ।

गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै महरले सरकार ‘स्टन्ट’मा मात्रै केन्द्रित भएको बताए । उनले भने, “स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ । राज्यले नागरिकलाई आत्मदाह गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ । सुकुम्बासी हुन् वा गणेश नेपाली, नागरिकलाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने काम राज्यले गरिरहेको छ । यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ ।”

महरले निरंकुश राणा शासनको अन्त्यका लागि योगमाया न्यौपानेले जलसमाधि लिएको इतिहास स्मरण गराउँदै गणेश नेपालीको आत्मदाहले पनि वर्तमान सरकारलाई ठूलो राजनीतिक मूल्य चुकाउन बाध्य पार्ने दाबी गरे ।

“योगमाया न्यौपानेको जलसमाधिपछि राणा शासन ढल्यो भने गणेश नेपालीको आत्मदाहका कारण यो सरकारले पनि ठूलो मूल्य चुकाउनुपर्नेछ । यो हत्याको जिम्मेवार यही सरकार हो,” उनले भने ।

सम्बोधनको अन्त्यमा महरले सरकार जनताको पक्षमा नभई जनता मार्ने खेलमा लागेको आरोप लगाउँदै ‘यो सरकार मुर्दावाद’ भन्दै नाराबाजी गरे ।

उनले सरकारले १०० दिनका उपलब्धि सार्वजनिक गरिरहँदा गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रमसमेत कटौती गरेको भन्दै सरकारको नैतिकतामाथि प्रश्न उठाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?