Butwal Today

प्लान्ट क्वारेनटाइन अभाव: भारतबाट आयातित ताजा तरकारी नष्ट

२६ असार २०८३, शुक्रबार
अ+
अ-

नवलपरासी । नेपाल–भारत सीमास्थित महेशपुर भन्सार नाकामा प्लान्ट क्वारेनटाइन (वनस्पति संगरोध) सेवा नहुँदा भारतबाट ल्याइने ताजा तरकारी तथा फलफूल परीक्षण र भन्सार प्रक्रिया पूरा गर्न नसकी नष्ट गर्नुपर्ने अवस्था बढ्दै गएको छ ।

सरोकारवालाले सरकारी संरचनाको अभावका कारण खानयोग्य कृषि उपजसमेत गाड्नुपर्ने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

महेशपुर नाकामा वनस्पति स्वास्थ्य परीक्षण गर्ने स्थायी व्यवस्था नहुँदा भारतबाट ल्याइने तरकारी तथा फलफूलको भन्सार प्रक्रिया पूरा हुन सकेको छैन । अवैध रूपमा भित्रिएका कृषि उपज सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएपछि परीक्षण गर्न नसकिने भएकाले अन्ततः नष्ट गर्नुपर्ने बाध्यता रहेको छ ।

स्थानीय लक्ष्मी हरिजनका अनुसार परीक्षणको व्यवस्था नहुँदा उपभोग गर्न मिल्ने तरकारीसमेत कानुनी प्रक्रिया पूरा गर्न नसकी गाड्नुपर्ने अवस्था आएको छ । “यसबाट किसान, व्यापारी र उपभोक्ता सबैलाई नोक्सानी पुगेको छ,” उनले भनिन् । “सरकारले परीक्षण गर्ने व्यवस्था नगर्ने, तर परीक्षण नहुँदा बरामद गरी नष्ट गर्ने अवस्था उचित होइन ।”

हालै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा प्रस्तावित गुल्म हरपुरले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब एक लाख १७ हजार रूपैयाँ बराबरको ताजा तरकारी तथा फलफूल नियन्त्रणमा लिएको थियो । वरिष्ठ हवल्दार हरिराम लोहारको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको उक्त सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी महेशपुर भन्सार कार्यालयमा बुझाएको थियो ।

महेशपुर भन्सार कार्यालयका सुब्बा लेखनाथ भण्डारीको रोहवरमा उक्त तरकारी तथा फलफूल झरही नदी किनारमा लगेर नष्ट गरिएको थियो । भन्सार कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित पक्षको उपस्थितिमा बरामद सामग्री गाडिएको जनाइएको छ ।

कृषि क्षेत्रका जानकारका अनुसार सीमाबाट आयात हुने बोटबिरुवा, फलफूल तथा तरकारीको वनस्पति स्वास्थ्य परीक्षण नगर्दा नयाँ रोग, कीरा तथा संक्रमण नेपाल भित्रिने जोखिम रहन्छ । साथै अत्यधिक विषादी प्रयोग भएको वा नेपालमा प्रतिबन्धित रसायनको अवशेष भएको कृषि उपज बजारमा पुग्ने सम्भावना पनि रहने भएकाले प्लान्ट क्वारेनटाइन सेवा अनिवार्य मानिन्छ ।

सरोकारवालाका अनुसार महेशपुर नाकामा प्रभावकारी क्वारेनटाइन सेवा नहुँदा सुरक्षाकर्मीले नियन्त्रण गर्न नसकेका तरकारी तथा फलफूल परीक्षणबिनै बजारसम्म पुग्ने जोखिम पनि उत्तिकै रहेको छ । उपभोक्ता अधिकारकर्मीहरूले खाद्य सुरक्षा र जनस्वास्थ्यका दृष्टिले सीमा नाकामा नियमित परीक्षण र अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सशस्त्र प्रहरी बलले खुला सीमाको फाइदा उठाएर हुने अवैध आयात नियन्त्रणका लागि नियमित गस्ती र निगरानी जारी राखेको जनाएको छ । सुरक्षा स्रोतका अनुसार महेशपुर नाका हुँदै दैनिक रूपमा तरकारी, फलफूल तथा अन्य कृषि उपज अवैध रूपमा भित्र्याउने प्रयास हुने गरेको छ । कतिपय सामग्री नियन्त्रणमा परे पनि केही वैकल्पिक बाटो प्रयोग गरी बजारसम्म पुग्ने आशंका गरिएको छ ।

महेशपुर भन्सार २०७७ सालमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले मूल भन्सार नाकाका रूपमा उद्घाटन गर्नुभएको थियो । तर पाँच वर्ष बितिसक्दा पनि त्यहाँ प्लान्ट क्वारेनटाइन सेवा स्थापना हुन नसकेको हाटबजार व्यवसायी जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष राधेश्याम अग्रहरीले बताए ।

उनले सरकारले परीक्षण गर्ने संरचना स्थापना नगरी दैनिक उपभोगका वस्तु आशंकाकै आधारमा बरामद गरेर नष्ट गर्नु उचित नहुने बताए । “सरकारले आफ्नै संरचनागत कमजोरी पनि हेर्नुपर्छ,” उनले भने, “प्लान्ट क्वारेनटाइन स्थापना गरेर परीक्षणको व्यवस्था गरे किसान, व्यापारी र उपभोक्ता सबैलाई राहत पुग्नेछ ।”

स्थानीयवासीले महेशपुर नाकामा स्थायी प्लान्ट क्वारेनटाइन सेवा सञ्चालन, वनस्पति स्वास्थ्य परीक्षणको व्यवस्था, सीमा क्षेत्रमा संयुक्त अनुगमन तथा अवैध आयातमा संलग्नमाथि प्रभावकारी कारबाहीको माग गरेका छन् । उनीहरूका अनुसार दीर्घकालीन समाधानका लागि क्वारेनटाइन सेवा विस्तार, प्रभावकारी भन्सार व्यवस्थापन र सम्बन्धित निकायबीचको समन्वय सुदृढ गर्नु अपरिहार्य भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?