© 2026
काठमान्डौँ ।
राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद विश्वकर्माले सरकारको व्यवहारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपरेको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
उनले आगोमा जलेका गणेश नेपालीलाई उद्धार गर्ने क्रममा सुरक्षाकर्मीले अमानवीय व्यवहार गरेको आरोप लगाए ।
‘जलिरहेको मान्छेलाई अपराधीझैँ घिसारेर अस्पताल पुर्याइयो । त्यहाँ रहेका प्रहरी गणेश नेपाली आगोमा जलिरहँदा भागे,’ उनले भने, ‘उहाँलाई अपराधीझैँ घिसारेर लगियो । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीमाथि कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा देओस् ।’
सांसद विश्वकर्माले सरकारको ‘क्रुरता’ का कारण गणेश नेपालीले ज्यान गुमाउनुपरेको जिकिर गरे ।
‘आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्याइन्छ । यस्तो क्रुर सरकारले गणेश नेपालीलाई मर्न बाध्य बनायो । गणेश नेपालीको मृत्यु भइसकेको छ,’ उनले भने, ‘यदि नैतिकता छ भने बालेन सरकारले तुरुन्त राजीनामा दिएर सडकमा आउनुपर्छ ।’