© 2026
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत महिला उद्यमीले विना धितो १५ लाख रुपैयाँसम्म, आंशिक धितोमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। महिला स्वामित्व वा नेतृत्वमा रहेका व्यवसायलाई प्रोत्साहन गर्ने लक्ष्यसहित योजना सञ्चालनमा ल्याइएको हो।
कर्जा प्रवाहलाई थप व्यवस्थित र विश्वसनीय बनाउन बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनको प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ। यस प्रणालीले धितोलाई मात्र आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह र उद्यमीको क्षमताजस्ता पक्षको समग्र मूल्याङ्कन गर्नेछ। बैंकका अनुसार यस व्यवस्थाले धितो अभावका कारण वित्तीय सेवाबाट वञ्चित हुने महिला उद्यमीलाई व्यवसायको वास्तविक सम्भावनाका आधारमा कर्जा पहुँच उपलब्ध गराउन सहयोग पुर्याउनेछ।
यस योजनाबारे थप जानकारीका लागि ग्राहकहरूले सिद्धार्थ बैंकको २४सै घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।