Butwal Today

फेसबुक लाइभमा विष सेवन गरेकी पाथीभरा ‘माता’ आईसीयूमा

२६ असार २०८३, शुक्रबार
अ+
अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित पाथीभरा मन्दिरसँग सम्बन्धित ‘पाथीभरा माता’ भनेर चिनिने समीर थापाले शुक्रबार फेसबुक लाइभका क्रममा विष सेवन गरेपछि उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

विष सेवन गरेलगत्तै उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। अस्पतालका उपसचिव तथा सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ भने हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ। ज्ञवालीका अनुसार विष सेवनपछि बिरामीको अवस्था सेवन गरिएको विषको मात्रा र प्रकृतिअनुसार फरक–फरक हुन सक्छ। धेरै मात्रामा विष सेवन भएको अवस्थामा असर क्रमशः शरीरमा देखिन सक्ने भए पनि कम मात्रामा सेवन गरिएको अवस्थामा बिरामीको अवस्था सामान्य रहन सक्ने उनले बताइन्।

घटनापछि समीर थापाका आफन्तले समाजसेवी बेदिका केसी र सञ्चारकर्मी प्रकाश सुवेदीले सार्वजनिक रूपमा लगाएका आरोपको प्रमाण पेश गर्न माग गरेका छन्। उनीहरूले आधारविहीन आरोपमार्फत चरित्रहत्या गरिएको दाबी गर्दै कानुनी कारबाहीको मागसमेत गरेका छन्।

चार दिनअघि प्रसारण भएको ‘प्रकाश सुवेदी शो’ कार्यक्रममा बेदिका केसीले समीर थापासम्बन्धी विभिन्न आरोप लगाएकी थिइन्। त्यसपछि समीर थापाले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएका थिए। शुक्रबार भने उनले फेसबुक लाइभकै क्रममा विष सेवन गरेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?