© 2026
काठमाडौं । त्रिपुरेश्वरमा नगर प्रहरीसँग भएको विवादपछि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको छ। घटनापछि सरकारविरुद्ध सडकदेखि सदनसम्म विरोध भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाको क्रम यस्तो छ:
११:१० बजे – राहदानी विभागको २ नम्बर गेटअगाडि ‘नो पार्किङ’ क्षेत्रमा गणेश नेपालीले मोटरसाइकल पार्किङ गरे। ड्युटीमा रहेका नगर प्रहरी जवान मीना नगरकोटी र मीना तामाङले मोटरसाइकल हटाउन आग्रह गरे।
११:१०–११:२० बजे – मोटरसाइकल हटाउने विषयमा गणेश र नगर प्रहरीबीच भनाभन भयो। नगर प्रहरीले ‘ह्विल लक’ लगाउने चेतावनी दिँदै भिडियोसमेत रेकर्ड गर्न थालेपछि गणेश मोटरसाइकल लिएर राहदानी विभागको ३ नम्बर गेटतर्फ सरे।
११:२० बजे – ३ नम्बर गेटअगाडि पुनः ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल रोकेपछि नगर प्रहरी जवान मीना नगरकोटीले मोटरसाइकलमा ह्विल लक लगाइन्।
११:२६ बजे – ह्विल लक लगाएपछि दुवै पक्षबीच पुनः चर्को विवाद भयो। घटनास्थलमा सर्वसाधारणको भिड लाग्यो।
११:५५ बजे – नगर प्रहरीले कार्यालयमा फोन गरी ह्विल लक गरिएको मोटरसाइकल कार्यालय लैजान गाडी पठाइदिन अनुरोध गरिन्।
१२:०० बजे – प्रहरी बिट टेकुबाट प्रहरी हवलदार विकास बुढाथोकी घटनास्थल पुगे। नगर प्रहरीले गणेशले अभद्र भाषा प्रयोग गरेको जानकारी गराइन्।
१२:१२ बजे – गणेशले मोटरसाइकलबाट पेट्रोल निकालेर पानीको बोतलमा भरे। नगर प्रहरी जवान मीना तामाङले कारण सोध्दा उनले आफ्नो मोटरसाइकलको पेट्रोल निकाल्न पाउने जवाफ दिएका थिए। प्रहरीले सीसीटीभीमा अर्का एक व्यक्तिले उनलाई सहयोग गरेको देखिएको जनाएको छ।
१:३६ बजे – काठमाडौं महानगर प्रहरीको गाडी घटनास्थलमा पुग्यो।
१:३७ बजे – गणेशले राहदानी विभागको २ नम्बर गेटतर्फबाट आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए र दौडिँदै ३ नम्बर गेटअगाडि पुगे।
१:३८ बजे – नागरिक र सुरक्षाकर्मीको सहयोगमा आगो निभाइयो।
१:३९ बजे – प्रहरीले उद्धार गरी उपचारका लागि वीर अस्पताल पठायो।
त्यसपछि प्रहरीको विभिन्न टोलीले घटनास्थलको मुचुल्का, सीसीटीभी तथा अन्य भिडियो संकलन, प्रत्यक्षदर्शीसँग सोधपुछ र प्रमाण संकलनको काम गरेको जनाएको छ। घाइते गणेश नेपालीको शुक्रबार बिहान ११:१९ बजे वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।