© 2026
काठमाडौं । नेपाल सरकारले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गर्दै व्यक्तिगत सामाजिक सञ्जालमा सरकारी पोसाक वर्दी लगाएर खिचिएका फोटो वा भिडियो पोस्ट गर्न प्रतिबन्ध लगाएको छ।
नयाँ व्यवस्थाअनुसार सरकारी कर्मचारी, शिक्षक तथा अन्य सार्वजनिक पदाधिकारीले व्यक्तिगत फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमा आधिकारिक पोसाकमा खिचिएका फोटो वा भिडियो प्रकाशित गर्न पाउने छैनन्। सरकारले सार्वजनिक सेवाको व्यावसायिकता, मर्यादा र जनविश्वास कायम राख्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाएको छ।
यद्यपि, शैक्षिक, जनचेतनामूलक तथा सरकारी सूचना प्रवाहका लागि सम्बन्धित निकायबाट आधिकारिक रूपमा तयार गरिएका सामग्रीमा भने यो प्रतिबन्ध लागू हुने छैन। अर्थात्, सरकारी प्रयोजनका लागि आधिकारिक रूपमा तयार गरिएका फोटो वा भिडियो प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ। सरकारका अनुसार सरकारी पोसाकको जिम्मेवार प्रयोग सुनिश्चित गर्दै सार्वजनिक सेवाको छवि थप विश्वासिलो बनाउने उद्देश्यले नयाँ आचारसंहिता कार्यान्वयनमा ल्याइएको हो।
यस व्यवस्थाले विशेषगरी सामाजिक सञ्जालमा सक्रिय सरकारी कर्मचारी, शिक्षक तथा अन्य सार्वजनिक पदाधिकारीको अनलाइन गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।