© 2026
काठमान्डौँ ।
कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा करार सेवामा कार्यरत फिजियोथेरापिस्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिजियोथेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ ।
तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईंमाथि अस्पतालभित्रै कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । आफूमाथि कुटपिट गर्ने तिवारीमाथि कारबाही गर्नुपर्ने माग गर्दै बजगाईंले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रेमकुमार राईसमक्ष निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा अस्पतालले इलाका प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै पत्राचार गरेपछि प्रहरीले तिवारीलाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार मधेश प्रदेश घर भएका तिवारी २०७२ सालतिर नेपाली कांग्रेसका रतन खड्का अस्पताल व्यवस्थापन समिति अध्यक्ष रहेका बेला ज्यालादारीमा थेरापी विभागमा नियुक्त भएका थिए । त्यसपछि २०७६ सालतिर उनी करार सेवामा नियुक्त भएका थिए ।
स्रोतका अनुसार करार सेवामा नियुक्त भएयता तिवारीले अस्पतालभित्र राजनीतिक पहुँचका आधारमा प्रभाव जमाउँदै आएका थिए ।
केही दिनअघि टीकापुर अस्पतालले ल्याबका सामग्री खरिद गरेको थियो । उक्त खरिद प्रक्रियामा ल्याब इन्चार्जसहित केही कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै तिवारीले मेडिकल सुपरिटेन्डेन्टसमक्ष उजुरी दिएका थिए ।
सोही विषयमा सोमबार दिउँसो तिवारीको कार्यकक्षमा छलफल भइरहेका बेला उनले सुरुमा ल्याब इन्चार्ज बजगाईं र मेडिकल सुपरिटेन्डेन्ट राईमाथि अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको स्रोतको दाबी छ । त्यसपछि बजगाईं आफूलाई बिना कारण निहुँ खोजिएको भन्दै आफ्नो कार्यकक्षतर्फ फर्किएका थिए ।
बजगाईंका अनुसार त्यसलगत्तै तिवारीले उनको कार्यकक्षमा पुगेर कुटपिट गरेका थिए । विवादको मूल विषय खुलाउन नचाहे पनि मेडिकल सुपरिटेन्डेन्टकै उपस्थितिमा आफूलाई गालीगलौज र दुर्व्यवहार गरिएपछि त्यहाँबाट निस्किएको र पछि कार्यकक्षमै आएर तिवारीले आक्रमण गरेको उनले बताएका छन् ।
यस घटनाबारे छानबिन गर्न अस्पताल व्यवस्थापन समितिले पनि एक समिति गठन गरेको छ । प्रहरीले तिवारीलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।