Butwal Today

मुख्य सडकबाट हटाइएका बुटवलका व्यापारी भित्री गल्लीमा व्यापार गर्न बाध्य

२५ असार २०८३, बिहीबार
अ+
अ-

बुटवल ।

बुटवल उपमहानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा हुने अव्यवस्थित व्यापार हटाउने अभियानलाई तीव्र बनाएको छ । अभियानपछि अस्पताल क्षेत्रसहित मुख्य सडकमा वर्षौंदेखि व्यापार गर्दै आएका साना व्यवसायीहरू विस्थापित भएका छन् ।

केही समयअघिसम्म बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, भुड्कीचोकलगायत सडक किनारमा फलफूल तथा तरकारी बिक्री गर्ने व्यवसायीहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । तर उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउने अभियान सञ्चालन गरेपछि ती क्षेत्र अहिले सडक व्यापारबाट लगभग खाली भएका छन् ।

उपमहानगरपालिकाले सडकमा व्यापार गर्न निषेध गर्दै अटेरी गर्ने व्यवसायीका सामान जफत गर्ने तथा तत्काल हटाउने कार्यलाई निरन्तरता दिएको छ । त्यसको प्रत्यक्ष असर दैनिक ज्यालामजदुरी र साना व्यापारमा निर्भर व्यवसायीहरूमा परेको छ ।

मुख्य सडकबाट हटाइएका धेरै व्यवसायी अहिले भित्री गल्ली तथा कम भीडभाड हुने स्थानमा व्यापार गर्न बाध्य भएका छन् । उनीहरू सार्वजनिक रूपमा आफ्नो व्यवसाय देखाउनसमेत हिच्किचाउने गरेका छन् । व्यापार गरिरहेको दृश्य सार्वजनिक भए पुनः कारबाहीमा पर्ने डरका कारण अधिकांशले आफ्नो परिचय खुलाउन अस्वीकार गरेका छन् ।

बुटवललाई सफा, व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले सडक व्यवस्थापन अभियान सञ्चालन गरिए पनि त्यसबाट प्रभावित साना व्यवसायीको जीविकोपार्जनको विषय पनि उत्तिकै गम्भीर बनेको छ । त्यसैले सडक व्यवस्थापनसँगै उनीहरूका लागि वैकल्पिक व्यापार स्थल र दीर्घकालीन व्यवस्थापनको आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?