Butwal Today

२० हजार व्यवसाय र प्रतिष्ठानको आर्थिक गणना

२५ असार २०८३, बिहीबार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तु जिल्लामा दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत २० हजारभन्दा बढी प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरिएको छ । जिल्लाका १० वटै पालिकामा वैशाख २ गतेदेखि गरिएको आर्थिक गणनामा २० हजार ७५८ वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने सबै प्रतिष्ठान र व्यवसाय (आर्थिक एकाइ) को तथ्याङ्क सङ्कलन गर्ने कार्य पूरा भएको जिल्ला आर्थिक गणना अधिकारी मनोहर हरिजनले जानकारी दिए ।

उनका अनुसार पहिलो राष्ट्रिय आर्थिक गणना २०७५ मा जिल्लाको शिवराज नगरपालिकामा सबैभन्दा बढी दुई हजार ३१६ प्रतिष्ठान रहेकोमा दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ मा भने जिल्लाको बाणगंगा नगरपालिकामा तीन हजार ९७२ वटा व्यवसाय र प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिएको छ ।

कपिलवस्तुमा दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत कागजी मुख्य प्रश्नावलीमार्फत २० हजार ७१२ वटा तथा अनलाइनमार्फत ई–सेन्ससबाट ४६ वटा व्यवसाय र प्रतिष्ठानको गणना सम्पन्न गरिएको प्रमुख हरिजनले बताए ।

२०७५ सालको राष्ट्रिय आर्थिक गणनामा यशोधरा गाउँपालिकामा जिल्लामै सबैभन्दा कम ४९२ प्रतिष्ठान रहेकोमा यस पटक पनि ७९५ व्यवसाय र प्रतिष्ठानको गणना भए पनि सो पालिकामा जिल्लामै सबैभन्दा कम व्यवसाय र प्रतिष्ठान रहेको देखिएको छ ।

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ मा जिल्लामा २२ हजार ६१७ प्रतिष्ठान रहेको अनुमानका आधारमा गणना अगाडि बढाइएकोमा अनुमानित सङ्ख्याको तुलनामा ९३ प्रतिशत उपलब्धि हासिल भएको छ ।

जिल्लाभर ६३ जना गणक र आठ जना सुपरभाइजर गरी ७१ जना जनशक्तिलाई फिल्डमा खटाएर तथ्याङ्क सङ्कलनको कार्य पूरा गरिएको जनाइएको छ । केही ठुला प्रतिष्ठानले तत्कालै तथ्याङ्क उपलब्ध गराउन नचाहे पनि सबैको समन्वयमा तथ्याङ्क सङ्कलन गर्न सफल भएको प्रमुख हरिजनले जानकारी दिए ।

गणना गरिएको तथ्याङ्कअनुसार बाणगंगा नगरपालिकामा तीन हजार ८४९, शिवराजमा तीन हजार १५३, कपिलवस्तु नगरपालिकामा दुई हजार ८२३, बुद्ध भूमि नगरपालिकामा दुई हजार ७१४, कृष्णनगर नगरपालिकामा दुई हजार २०९, महाराजगञ्ज नगरपालिकामा एक हजार २००, मायादेवी गाउँपालिकामा एक हजार ६४९, शुद्धोधन गाउँपालिकामा एक हजार ६४९, विजयनगर गाउँपालिकामा ९१३ र यशोधरा गाउँपालिकामा ७९५ व्यवसाय तथा प्रतिष्ठानको गणना गरिएको छ ।

यसअघि वि.सं. २०७५ सालमा गरिएको पहिलो राष्ट्रिय आर्थिक गणनामा कपिलवस्तुमा १३ हजार ६०७ प्रतिष्ठानको गणना गरिएको थियो । जसमा ३० हजार ७४२ पुरुष र नौ हजार ८६८ महिला गरी कुल ४० हजार ६१० जनशक्ति रहेको तथ्याङ्कमा देखिएको छ ।

आर्थिक गणनामा विभिन्न वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने औपचारिक वा अनौपचारिक सबै प्रतिष्ठान तथा व्यवसायको गणना गरिएको हो । गणनाको प्रारम्भिक चरणमा सूचीकरण फाराममार्फत संक्षिप्त विवरण सङ्कलन गरी त्यसपछि मुख्य प्रश्नावलीमार्फत विस्तृत विवरण सङ्कलन गरिएको हो । साथै, पहिलो पटक ई–सेन्सससमेत गरिएको छ ।

यसअघि कपिलवस्तु जिल्लामा अस्थायी कार्यालय स्थापना गरी चैत १ गतेदेखि २०८३ असार मसान्तसम्मका लागि कार्य सञ्चालन गरिएको थियो भने वैशाख २ गतेदेखि असार ७ गतेसम्म वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने सबै प्रतिष्ठान तथा व्यवसाय (आर्थिक एकाइ) को तथ्याङ्क सङ्कलन गरिएको थियो ।

गणना गरिएको फारामको प्रतिवेदन भने केन्द्रीय तथ्याङ्क विभागमा प्रशोधनपछि प्रकाशन गरिने जनाइएको छ । अस्थायी कार्यालयबाट कार्य सम्पन्न भएपछि कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको जिल्ला आर्थिक गणना समन्वय समितिको बैठकले गणनामा खटिएका कर्मचारी र सुपरभाइजरहरूलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी गौतमले कपिलवस्तु जिल्ला आर्थिक गतिविधिमा पछाडि जस्तो देखिए पनि प्रतिष्ठानको सङ्ख्याले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?