© 2026
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–८ की ३६ वर्षीया दिलमाया गैरे, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का २८ वर्षीय सन्देश ढुंगाना र कास्कीको रूपा गाउँपालिका–१ का ३० वर्षीय विशाल खवास राना रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार दिलमाया गैरेले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ७ लाख रुपैयाँ, सन्देश ढुंगानाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट १६ लाख रुपैयाँ तथा विशाल खवास रानाले सर्बिया पठाइदिने भन्दै एक जनाबाट २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा प्रहरीले दिलमायालाई काठमाडौं महानगरपालिका–१३, सन्देशलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–७ र विशाललाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकी दिलमाया गैरेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। सन्देश ढुंगाना र विशाल खवास रानालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।