© 2026
काठमाडौं । नेकपा एमाले पुनर्गठनको कार्ययोजना तयार गर्न गठित कार्यदलले प्रतिवेदनको मस्यौदा तयार गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ।
बिहीबार बसेको कार्यदलको बैठकले कार्यदलका संयोजक बादल र सदस्य–सचिव पोखरेललाई मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मा दिने निर्णय गरेको हो। बैठकमा देशभरबाट संकलित सुझावबारे समेत विस्तृत छलफल भएको थियो। कार्यदलले देशका १३ स्थानमा पुगेर सुझाव संकलन गरेको जनाएको छ। सुझाव संकलन कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्ने सम्बन्धित कमिटी तथा कार्यक्रममा सहभागी सबैप्रति बैठकले धन्यवाद व्यक्त गरेको छ।
त्यस्तै, बैठकले कार्यदलका सदस्य तथा उपाध्यक्ष विष्णु पौडेलको रिहाइको माग गर्दै उनको पक्राउको विरोध गरेको छ। सुझाव संकलनकै क्रममा सुर्खेतबाट पक्राउ परेका पौडेलको गिरफ्तारीलाई कार्यदलले राजनीतिक प्रतिशोधपूर्ण कदम भएको आरोप लगाउँदै घोर निन्दा र भर्त्सना गरेको छ।