Butwal Today

निर्मला हत्या प्रकरण :आठ वर्षपछि पुन अनुसन्धा सक्रियता

२४ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा हुन लाग्दा नेपाल प्रहरीले अनुसन्धानलाई नयाँ ढंगबाट अघि बढाउने प्रयास थालेको छ। प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा १३ सदस्यीय नयाँ अनुसन्धान समिति गठन गरेको छ, जसले केही दिनअघिदेखि नै कञ्चनपुर पुगेर काम सुरु गरिसकेको छ।

नयाँ टोलीले हालसम्म संकलित प्रमाण, प्रतिवेदन, बयान तथा सूचनाको पुनः समीक्षा गर्दै अनुसन्धानलाई नयाँ ढंगले अघि बढाइरहेको प्रहरीले जनाएको छ। एसएसपी पंगेनी यसअघि यस प्रकरणको अनुसन्धानमा संलग्न थिएनन्। निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो। त्यसयता यो प्रकरण नेपाल प्रहरीको इतिहासकै सबैभन्दा लामो र धेरै जनशक्ति, समय तथा स्रोत परिचालन गरिएको अनुसन्धानमध्ये एक बनेको छ। तर आठ वर्ष बितिसक्दा पनि वास्तविक दोषी पहिचान हुन सकेको छैन।

यस अवधिमा नेपाल प्रहरीमा आठ जना प्रहरी महानिरीक्षक ९आईजीपी० परिवर्तन भएका छन्। विभिन्न अनुसन्धान समिति गठन भए, काठमाडौंबाट दर्जनौँ प्रहरी अधिकारी कञ्चनपुर खटाइए, तर अनुसन्धान निष्कर्षमा पुग्न सकेन। प्रहरीका अनुसार अबको अनुसन्धान डीएनए परीक्षणभन्दा अन्य वैज्ञानिक प्रमाण, भौतिक साक्ष्य, बयान र नयाँ सूचनामा केन्द्रित हुनेछ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख जीवन रिजाल नेतृत्वको समितिले डीएनए नमुना संकलन प्रक्रियामै त्रुटि भएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि डीएनएबाट अपराधी पहिचान गर्ने सम्भावना लगभग समाप्त भएको मानिएको छ।

प्रहरी स्रोतका अनुसार हालको टोलीले घटनासँग सम्बन्धित सबै पुराना विवरण, भौतिक प्रमाण तथा नयाँ सूचनाको पुनः विश्लेषण गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा भएका कमजोरीका कारण घटनाको अनुसन्धानको दिशा नै प्रभावित भएको प्रहरी अधिकारीहरूको बुझाइ छ। यसअघि यस प्रकरणमा सयौँ व्यक्तिसँग सोधपुछ गरिएको, २०० भन्दा बढीलाई निगरानीमा राखिएको तथा ठूलो संख्यामा डीएनए परीक्षण गरिएको थियो। तर अहिलेसम्म कसैविरुद्ध पनि निर्णायक प्रमाण स्थापित हुन सकेको छैन। प्रहरीले उपलब्ध प्रमाण, नयाँ सूचना तथा अन्य वैज्ञानिक आधारका माध्यमबाट वास्तविक दोषी पहिचान गर्ने प्रयासलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?