Butwal Today

मानव बेचबिखन रोकथाममा प्रविधिको दुरुपयोग चुनौती

२४ असार २०८३, बुधबार
अ+
अ-

कपिलवस्तु । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको दुरुपयोग बढ्दै गएको भन्दै त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सम्बन्धित निकायबिच समन्वय र क्षमता अभिवृद्धि आवश्यक रहेको औँल्याइएको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) जिल्ला समिति कपिलवस्तुको सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा मानव बेचबिखन तथा ओसारपसारको बदलिँदो स्वरूप, विशेष गरी प्रविधिमार्फत हुने गतिविधिलाई गम्भीर रूपमा लिएर रोकथामका उपाय प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल भएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, रोकथाम, उद्धार, संरक्षण तथा पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो ।

समितिका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार बैठकले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) नियमावली, २०७७ बमोजिम विभिन्न निर्णय गरेको छ ।

बैठकले २०८३ असार २५ गते सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुको व्यवस्थापनमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै, सामाजिक विकास डिभिजनले तयार पारेको कार्य योजनाअनुसार कार्यक्रम कार्यान्वयन गर्ने तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुनी व्यवस्था, पीडित मैत्री सेवा र समन्वय प्रणालीका विषयमा सम्बन्धित निकायका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा जिल्ला न्यायाधिवक्ता कृष्णचन्द्र पाण्डे, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, प्रहरी उपरीक्षक मनोहर भट्ट, नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाईँ, साथी संस्थाकी प्रमुख विमला घिमिरे, परामर्शदाता सुष्मा गुरागाईँ, सामाजिक विकास डिभिजन कार्यालयका पुष्यप्रसाद न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?