© 2026
काठमाडौँ । एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्टविरुद्ध शानदार पुनरागमन जित निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टास्थित स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको हो ।
रोमाञ्चक बनेको खेलमा ७९औँ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा लगातार तीन गोल गर्दै अविस्मरणीय पुनरागमन गरेको हो ।
खेलको ७९औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि मेसी आफैंले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।
यसअघि खेलको १५औँ मिनेटमा इजिप्टका यासर इब्राहिमले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए । तर, अन्तिम समयमा अर्जेन्टिनाको आक्रमण थेग्न नसक्दा इजिप्ट पराजित हुन पुग्यो ।
अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पराजित इजिप्ट भने विश्वकपबाट बाहिरिएको छ ।
इजिप्टले ९२ वर्षपछि पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरणमा स्थान बनाएको थियो । नकआउट चरणमा पहिलो जित पनि हात पारिसकेको इजिप्ट क्वार्टरफाइनल प्रवेश गर्न भने असफल रह्यो ।
यस खेलमा पनि गोल गरेसँगै मेसीले विश्वकपमा लगातार नौ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् । उनी विश्वकपमा सर्वाधिक ३१ खेल खेल्ने, सर्वाधिक २१ गोल गर्ने तथा सर्वाधिक ६ संस्करणमा सहभागी हुने खेलाडीका रूपमा पनि रहेका छन् ।
जारी विश्वकपमा आठ गोल गरेका मेसी सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् ।