© 2026
बुटवल ।
कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरी छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन् । सामाजिक सञ्जालमा समेत भाइरल बनेको बुटवलको कालिकानगरस्थित द कन्सेप्ट नजिक दुई युवामाथि चक्कु प्रहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–११, बुद्धनगर निवासी २९ वर्षीय सुमित गुरुङ (आचे) लाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
घटना गत असार १७ गते बिहान करिब ३ बजे कालिकानगरस्थित द कन्सेप्ट अगाडि सडकमा भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीका अनुसार गुरुङले स्थानीय १८ वर्षीय गिरिजेश राना र २३ वर्षीय सुन्दर बगालेमाथि धारिलो हतियार (चक्कु) र हेल्मेट प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनापछि फरार रहेका गुरुङलाई प्रहरीले असार २० गते दाङको तुलसीपुर उपमहानगरपालिका–१९, बिजौरीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गुरुङ यसअघि कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद सजाय भुक्तान गरी २०८० साल असोजमा कारागारबाट छुटेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा आफ्नी केटी साथीलाई लिएर भएको सामान्य विवादपछि झगडा चर्किएको र त्यसक्रममा चक्कु प्रहार भएको खुलेको प्रहरी उपरीक्षक शाहीले बताए ।
हाल गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धान अघि बढाएको छ । चक्कु प्रहारबाट घाइते भएका दुवै युवाको उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
सुनको सिक्री चोरी गर्ने गिरोह पक्राउ
यसैबीच प्रहरीले रुपन्देहीमा भएका अन्य दुई छुट्टाछुट्टै गम्भीर अपराधमा संलग्न थप आठ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
असार १६ गते तिलोत्तमा नगरपालिका–३, शान्तिचोकमा गुडिरहेको अवस्थामा एक महिलाको सुनको सिक्री थुतेर फरार भएका तीन भारतीय नागरिक र चोरीको सुन खरिद गर्ने एक नेपाली व्यवसायी पक्राउ परेका हुन् ।
सीसीटीभी फुटेजका आधारमा प्रहरीले घटनामा प्रयोग गरिएको लु ६५ प २९३१ नम्बरको मोटरसाइकल तथा दुई थान सुनको सिक्रीसहित भारतको उत्तर प्रदेशका राहुल जयसवाल र प्रिन्स जयसवाल, बिहारका नितेश कुमार गुप्ता तथा सिद्धार्थनगर नगरपालिका–५ निवासी प्रदीप कान्दु बानियालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बानिया यसअघि पनि चोरीसम्बन्धी मुद्दामा ५० हजार रुपैयाँ जरिवाना तिरेका पुराना अभियुक्त हुन् ।
सवारीसाधन चोरी गरी नक्कली कागजात बनाएर बिक्री गर्ने समूह पक्राउ
प्रहरीले भारतबाट मोटरसाइकल चोरी गरी नेपाल ल्याउने, नेपाली नम्बर प्लेट जडान गर्ने तथा नक्कली ब्लुबुक बनाएर बिक्री गर्ने गिरोहलाई पनि पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा असार ७ गते गरिएको खानतलासीका क्रममा प्रहरीले ६ वटा मोटरसाइकल, ३ वटा स्कुटर, २ थान ल्यापटप र १ थान रङ्गीन प्रिन्टर बरामद गरेको छ । यस घटनामा पाल्पाका अशोक सारु तथा बुटवलका सरोज उपाध्याय, महेन्द्र गुरुङ र विकास केसी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका महेन्द्र गुरुङ यसअघि लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् भने विकास केसी सार्वजनिक अपराध मुद्दामा सजाय पाइसकेका पुराना अभियुक्त हुन् ।
पक्राउ परेका सबै अभियुक्तहरूमाथि अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।