Butwal Today

सुकुम्बासीमाथिको बल प्रयोगप्रति रास्वपा सचेतक धितालकै प्रश्न — ‘योजना र संवेदनशीलता कहाँ थियो?’

२४ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सुकुम्बासी बस्ती खाली गराउने क्रममा राज्यले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नै सरकारमाथि सार्वजनिक रूपमा प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धितालले सडकमा देखिएको सुकुम्बासीहरूको पीडा र आँसुले सबैलाई गम्भीर बनाउनु पर्ने बताएकी छन्। सुकुम्बासी व्यवस्थापन आवश्यक भए पनि त्यसका लागि अपनाइएको बल प्रयोग र कार्यशैलीले राज्यको संवेदनशीलता र तयारीमाथि प्रश्न उठाएको उनको भनाइ छ।

चुनावका बेला रास्वपाले गरेको प्रतिबद्धता स्मरण गराउँदै उनले लेखेकी छन्, “सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो बाचापत्रअनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?” धितालले नागरिकप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा पर्याप्त योजना, संवेदनशीलता र जिम्मेवारीबिना चालिएका कदमले राज्यकै कमजोरी र असक्षमता उजागर गरेको टिप्पणी गरेकी छन्। उनले आफ्नो सन्देशमा थपेकी छन्, “जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो।”

सुकुम्बासी व्यवस्थापनबारे सरकारको कदमलाई लिएर विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा सर्वसाधारणबाट मिश्रित प्रतिक्रिया आइरहेका बेला सत्तारुढ दलकै एक नेतृले सार्वजनिक रूपमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएपछि यस विषयले थप राजनीतिक चर्चा पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?