© 2026
दाङ । लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको विनियोजन विधेयक बहुमतले पारित गरेको छ।
बुधबार बसेको प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत १७औँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले प्रदेश सञ्चित कोषबाट सेवा तथा कार्य सञ्चालनका लागि खर्च गर्ने सम्बन्धी विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। सभामुख तुलाराम घर्ती ले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे। पारित बजेटअनुसार चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश सरकारले असार १ गते बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो। असार २१ गतेदेखि सुरु भएको बजेटमाथिको छलफल चार दिनसम्म चलेको थियो। छलफलका क्रममा सत्ता र प्रतिपक्षका सांसदहरूले बजेटका विभिन्न पक्षमा सुझाव र टिप्पणी राखेका थिए भने उठेका प्रश्नको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य ले दिएका थिए।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जोखबहादुर महरा र नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी ले विशेष समयमा सम्बोधन गरेका थिए। यस्तै, सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्की ले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पनि प्रदेश सभामा पेश गरेका थिए।