© 2026
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाइबिसौना स्थित घोराही–घर्तीगाउँ सहिद मार्गमा बुधबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घर्तीगाउँबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको बस ओरालो सडकमा ब्रेक फेल भएपछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेहरूमा माडी गाउँपालिका–२ घर्तीगाउँकी २५ वर्षीया जुनमाया पुनमगर, त्रिवेणी गाउँपालिका–७ रामीका १९ वर्षीय अम्मर झांक्री, परिवर्तन गाउँपालिका–२ राङ्सीका ३९ वर्षीय रामबहादुर घर्तिमगर तथा रोल्पा नगरपालिका–३ क्युरीकी २५ वर्षीया मनिषा विक रहेका छन्। उनीहरूको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
यस्तै, दाङको घोराही उपमहानगरपालिका–१६ सर्राकी ५० वर्षीया सुनिता घर्तिमगरको ढाड र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ। अन्य नौ जना यात्रु सामान्य घाइते भएका छन्। उनीहरूमा सुनिता बुढामगर, विशाल परियार, भिमा पुन, सर्मिला घर्ति, मिरा बुढा, शिवशक्ति बुढामगर, विशाल डाँगी, टेकबहादुर सार्की तथा बस चालक चन्द्रविर पुन रहेका छन्। चालक पुनको हातमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि रोल्पाको स्वास्थ्य चौकी नुवागाउँ पठाइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।