Butwal Today

नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ दोषी, ७ जनाले पाए सफाइ

२३ असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहर गर्दै ७ जनालाई सफाइ दिएको छ। दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, गोविन्दकुमार चौधरी विक्रम, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा रहेका छन्।

सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।अदालतले पूर्वमन्त्री रायमाझी र खाँडलाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। उनीहरूसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे तथा सुजाता कोइरालाका तत्कालीन स्वकीय सचिव केशवप्रसाद दुलाल पनि सोही कसुरमा दोषी ठहर भएका छन्।

फैसलाअनुसार सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजीत राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पाले पनि राज्यविरुद्धको कसुर तथा एकीकृत कसुर गरेको ठहर भएको छ। उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने प्रलोभनमा आपराधिक कार्य गरेको अदालतको निष्कर्ष छ। त्यस्तै, शरणार्थी नेता टेकनाथ रिजाल दोषी ठहर भएका छन्। नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई राज्यविरुद्धको कसुरमा मतियार रहेको ठहर गरिएको छ।

लिखत कीर्ते कसुरमा भने टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी मात्र दोषी ठहर भएका छन्। अन्य प्रतिवादीले उक्त कसुरमा सफाइ पाएका छन्। संगठित अपराधतर्फ केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा। इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई प्रमुख कसुरदारका रूपमा दोषी ठहर गरिएको अदालतको फैसलामा उल्लेख छ।

यस्तै, हाइप्रोफाइल ‘सेटिङ’ मिलाएको आरोप लागेका बेचन झालाई ठगी कसुरमा मात्र दोषी ठहर गरिएको छ। उनीविरुद्ध सरकारी लिखत कीर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुर सम्बन्धी आरोप भने अदालतले पुष्टि नभएको ठहर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?