Butwal Today

प्रधानमन्त्री बालेनविरुद्ध अपमानजनक टिप्पणी गरेका युट्युबर जेल चलान

२३ असार २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

युट्युब तथा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७, दोबाटेका पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाका अनुसार न्यायाधीश कुमार मास्केको इजलासले पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो । युट्युबमार्फत गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा उनको पक्राउपछि देशभर विरोध भएको थियो । त्यसपछि चर्को आलोचनाका बीच प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएर रिहा गरेको थियो ।

पछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेसँगै अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक र अमर्यादित शब्द प्रयोग गरिएका भिडियो, स्टाटस तथा अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?