© 2026
काठमाडौँ ।
पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने निकासी रोकथामका लागि दुईदिने चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ ।
सांस्कृतिक एवं पुरातात्विक सम्पदाको क्षेत्रमा काम गर्ने निकायका लागि आजदेखि सुरु भएको कार्यक्रम बुधबारसम्म चल्ने विभागका प्रवक्ता सन्दीप खनालले जानकारी दिए ।
कार्यक्रममा सांस्कृतिक एवं पुरातात्विक सम्पदाका चोरी निकासीका विषयमा केन्द्रित भएर तयार पारिएका छवटा प्रस्तुतिकरण गरिने उनले बताए ।
समारोह शुभारम्भ गर्दै विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले चोरी भएका मूर्तिमध्ये ४०९ वटाको निवेदन प्राप्त भएको जानकारी दिए । चोरीमध्ये ९६ वटा देशभित्रबाट प्राप्त भएको छ । विदेशबाट २०३ फिर्ता भएका छन् । ९५ वटा मूर्ति विदेशबाट फिर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए ।
चोरी भएका मूर्ति सम्बन्धित स्थानमै प्रतिस्थापन गर्न विभिन्न खालका चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न कार्यविधि तयार पारिएको विभागले जनाएको छ । कार्यालयले तयार पारेको मस्यौदामाथि बुधबार सरोकार भएका निकायबीच छलफल गरी अन्तिम रूप दिइने महानिर्देशक प्रधानाङ्गले जानकारी दिए ।