Butwal Today

लुम्बिनी प्रदेश सभा : अशिष्ट अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग

२३ असार २०८३, मंगलवार
अ+
अ-

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी प्रमुख सचेतक जमुना ढकालले प्रदेश सभामा सांसदहरूले मर्यादित भाषा प्रयोग गर्नुपर्ने भन्दै अशिष्ट, अश्लील र अपमानजनक अभिव्यक्ति प्रयोग नगर्न आग्रह गरेकी छन्। मंगलबार बसेको लुम्बिनी प्रदेश सभाको बैठकको सुरुमै प्रमुख सचेतक ढकालले एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ तथा सांसदहरू दुर्गाबहादुर चौधरी, बसन्ती न्यौपाने र राजकुमार चौधरीले प्रदेश सभा नियमावली–२१ (घ) विपरीत अभिव्यक्ति दिएको भन्दै ती भनाइ संसदको रेकर्डबाट हटाउन माग गरिन्।

उनले व्यक्तिगत टिप्पणी गर्दै अश्लील, अशिष्ट, अपमानजनक तथा नैतिकताको प्रतिकूल हुने शब्द प्रयोग गरिएको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने बताइन्। सांसदहरूले आफ्ना भनाइ राख्दा सभ्य र जिम्मेवार व्यवहार प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो। ढकालले यस्ता गतिविधिले जनतामा, विशेषगरी युवापुस्तामा गलत राजनीतिक संस्कारको सन्देश जाने भएकाले नीति निर्माण गर्ने सांसदहरू अझ जिम्मेवार र मर्यादित बन्नुपर्नेमा जोड दिइन्। संघीय व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला सांसदहरूको व्यवहारले संसदको गरिमामा समेत असर पुग्ने उनको तर्क थियो।

प्रमुख सचेतकको मागपछि सभामुख तुलाराम घर्तीले विषय अध्ययन गरी नियमावलीविपरीत रहेका शब्द रेकर्डबाट हटाउने प्रतिबद्धता जनाएका छन्।

सभामुख घर्तीले संसदमा अशिष्ट व्यवहार भएको आफूले पनि देखेको र सुनेको उल्लेख गर्दै नियमावलीविपरीत रहेका शब्द अध्ययनपछि रेकर्डबाट हटाउन निर्देशन दिने बताए। साथै उनले प्रदेश सभा नियमावली उद्धृत गर्दै आगामी दिनमा कुनै पनि सांसदले अशिष्ट, अश्लील, अपमानजनक वा नैतिकताको प्रतिकूल हुने व्यवहार नगर्न सचेत गराए। सभामुखको प्रतिबद्धतापछि प्रदेश सभा बैठकको अवरोध हट्दै बैठकको कार्यसूची अघि बढाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?