Butwal Today

कोट र लोगो नलगाउने सांसदलाई रोष्ट्रममा जान नदिने सभामुखको चेतावनी

२३ असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको पोशाक र संसदीय अनुशासनमा कडाइ गर्ने संकेत दिएका छन्। उनले कोट वा निर्धारित लोगो नलगाउने सांसदलाई अबदेखि प्रतिनिधि सभाको रोष्ट्रम प्रयोग गर्न नदिने स्पष्ट चेतावनी दिएका हुन्। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै सभामुख अर्यालले केही सांसदहरू बैठकमा मर्यादाविपरीत प्रस्तुत भइरहेको उल्लेख गर्दै दलका प्रमुख सचेतक र सचेतकहरूलाई आवश्यक कडाइ गर्न निर्देशन दिएका छन्।

उनले भने, “कोही सांसद कोट फुकालेर कुर्सीमा झुण्ड्याउनुहुन्छ, कोही कोट र लोगो नै लगाउनुहुन्न। अबदेखि सांस्कृतिक पहिरन वा कोट नलगाउने सांसदलाई रोष्ट्रममा जान दिइने छैन।” प्रतिनिधि सभा नियमावलीअनुसार सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था छ। साथै, कार्यव्यवस्था परामर्श समितिको सिफारिसका आधारमा सभामुखले पोशाकसम्बन्धी मापदण्ड निर्धारण गर्न सक्ने कानुनी व्यवस्था पनि रहेको छ। सांस्कृतिक पहिरन लगाएर बैठकमा सहभागी हुन भने सांसदहरूलाई अनुमति छ।

सभामुख अर्यालले बैठक सञ्चालन भइरहेका बेला अनावश्यक रूपमा बाहिर–भित्र नगर्न, सरकारी इमेल प्रणाली प्रयोग गर्न तथा संसदीय अनुशासनलाई थप प्रभावकारी बनाउन सबै सांसदलाई आग्रह गरेका छन्। उनले साउन महिनादेखि सांसदहरूको दैनिक हाजिरी विवरणसमेत सार्वजनिक गरिने जानकारी दिँदै संसदको अनुशासन, पारदर्शिता र मर्यादा थप सुदृढ बनाइने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?