Butwal Today

सरकारको व्यवस्थापन राहत : १४ सय ४१ सुकुम्बासीले बुझे ३ करोड ५५ लाख

२२ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौं। काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका १ हजार ४४१ सुकुम्बासी परिवारले आइतबार साँझसम्म सरकारले उपलब्ध गराएको व्यवस्थापन राहत रकम प्राप्त गरेका छन्।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार राहतका लागि निवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म थपिएको छ। सो मितिसम्म निवेदन दिने परिवारले असार २४ गतेभित्र राहत रकम प्राप्त गर्न सक्नेछन्। तोकिएको समयभित्र निवेदन नदिने परिवार भने राहतबाट वञ्चित हुनेछन्।

भौतिक पूर्वाधार मन्त्रालयले सुकुम्बासीहरूको स्वव्यवस्थापनका लागि करिब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। हालसम्म ३ करोड ५५ लाख ७५ हजार रुपैयाँ वितरण भइसकेको छ। सरकारले प्रत्येक सुकुम्बासी परिवारलाई प्रारम्भिक रूपमा २५ हजार रुपैयाँ उपलब्ध गराइरहेको छ। साथै, सुकुम्बासीका रूपमा प्रमाणित भएपछि केही महिनासम्म मासिक १५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।

हाल विभिन्न होल्डिङ सेन्टरमा रहेका ३८८ परिवारमध्ये २५८ परिवारले राहत बुझिसकेका छन् भने होल्डिङ सेन्टरबाहिर बसोबास गरिरहेका १ हजार १८३ परिवारले पनि रकम प्राप्त गरिसकेका छन्। थप १९६ परिवारको भुक्तानी प्रक्रिया जारी रहेको समितिले जनाएको छ। सरकारले असार १९ गतेसम्म होल्डिङ सेन्टर तथा होटल बसाइको खर्च व्यहोर्ने व्यवस्था गरेको थियो। त्यसपछिको होटल खर्च भने सम्बन्धित परिवारले आफैं बेहोर्नुपर्नेछ।

यसैबीच, नगरकोटस्थित होल्डिङ सेन्टरका २१ परिवार आफ्नै व्यवस्थापनमा स्थानान्तरण भइसकेका छन् भने खरिपाटीका धेरै परिवार पनि होल्डिङ सेन्टर छाड्न थालेका छन्। राहत रकम लिए वा नलिए पनि होल्डिङ सेन्टर खाली गर्न नमानेका परिवारको व्यवस्थापनबारे जिल्ला प्रशासन कार्यालय काठमाडौं र बागमती सभ्यता आयोजनाबीच छलफल हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?