© 2026
काठमान्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेशकुमार सापकोटाले कर्णाली राजमार्गको निर्माण गुणस्तर र मापदण्डबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्णालीमा बारम्बार हुने सवारी दुर्घटनाको कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए ।
उनले भने, ‘योभन्दा अगाडिको सरकारले यो राजमार्ग बनायो। के यो राजमार्ग मापदण्डअनुसार निर्माण भएको थियोरु यदि मापदण्डअनुसार निर्माण भएको छैन भने तत्कालीन सरकारको पालामा राजमार्ग निर्माणमा संलग्न इन्जिनियर र ठेकेदारलाई पनि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
सापकोटाले कर्णाली राजमार्ग मापदण्डअनुसार निर्माण भएको हो वा होइन भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए । निर्माणमा लापरबाही भएको पुष्टि भए तत्कालीन जिम्मेवार इन्जिनियर र ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग थियो ।
उनले कर्णाली प्रदेशमा सुर्खेतदेखि जुम्लासम्म १७–१८ वटा चेकपोइन्ट रहेको उल्लेख गर्दै प्रत्येक चेकपोइन्टमा करिब १० मिनेटसम्म सवारीसाधन रोकिँदा यात्रुले अनावश्यक सास्ती भोग्नुपरेको बताए ।
जनताको सुरक्षा सुनिश्चित गर्न राखिएका चेकपोइन्टहरूले नै यात्रुलाई असहज बनाएको भन्दै उनले यस्ता व्यवस्थाको पुनरावलोकन गर्न सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराए ।