Butwal Today

खाद्य पदार्थमा विषादी र मिसावटको जोखिम 

२२ असार २०८३, सोमबार
अ+
अ-

भैरहवा । बजारमा पाइने तरकारी, फलफूल, दूध, मासु र अन्य खाद्य पदार्थमा विषादी र अखाद्य वस्तुको मिसावट बढ्दै गएको भन्दै सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

भैरहवामा आइतबार आयोजित विषादीको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मी, व्यवसायी र प्रशासनका प्रतिनिधिले जनस्वास्थ्यमा बढ्दो जोखिमबारे चेतावनी दिएका हुन् । स्वास्थ्य कार्यालय भैरहवाका टिकाराम अधिकारीले कृषि उत्पादनदेखि भण्डारण र कोल्ड स्टोरेजसम्मका विभिन्न चरणमा गलत अभ्यास बढेकाले समस्या जटिल बन्दै गएको बताए ।

उनका अनुसार आवश्यकता भन्दा बढी विषादी प्रयोग, खाद्य पदार्थमा मिसावट तथा अस्वस्थ कर प्रशोधनका कारण क्यान्सर, मुटु रोग, उच्च रक्तचाप, मिर्गौलाको समस्या, बाँझोपन र नपुंसकता जस्ता रोगको जोखिम बढिरहेको छ ।

उनले दूध उत्पादन बढाउन गाईभैंसीमा अक्सिटोसिन हर्मोनको सुई लगाउने गलत प्रवृत्ति पनि बढ्दै गएको उल्लेख गर्दै यस्ता प्रतिबन्धित अभ्यासले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बताए । “किरा लागेको तरकारी कहिलेकाहीँ विषादीले भरिएको तरकारीभन्दा सुरक्षित हुन सक्छ,” उनले भने, “स्वस्थ समाज निर्माणका लागि उपभोक्ता र व्यवसायी दुवै सचेत हुनुपर्छ ।”

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख अनुप हलवाईले बजारमा ‘प्लास्टिकको चामल’ पाइन्छ भन्ने प्रचार निराधार र भ्रमपूर्ण भएको स्पष्ट पारे । प्रेसर कुकरमा पकाएको भात डल्लो बनेर उफ्रिँदैमा त्यसलाई प्लास्टिकको चामल भन्न नमिल्ने भन्दै सामाजिक सञ्जालमा फैलिएका अफवाहमा विश्वास नगर्न उनले आग्रह गरे ।

हलवाईले हाल प्रयोगमा रहेको विषादी द्रुत विश्लेषण विधिले सबै प्रकारका विषादी परीक्षण गर्न नसक्ने भएकाले उपभोक्ता स्वयं पनि सतर्क हुनुपर्ने बताए । बजारबाट ल्याइएका हरियो तरकारी र फलफूललाई एक रात पानीमा डुबाएर राखी भोलिपल्ट राम्ररी पखालेर प्रयोग गर्दा विषादीको मात्रा करिब ५० प्रतिशतसम्म घट्ने प्रयोगशाला परीक्षणबाट पुष्टि भएको उनले जानकारी दिए ।

उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले वार्षिक कार्य योजनाअनुसार नियमित रूपमा बजार अनुगमन, नमुना सङ्कलन र खाद्य परीक्षण गर्दै आएको छ । अहिले बजारको अवस्था आत्तिनुपर्ने खालको नभए पनि उपभोक्ताले प्याकेट बन्द खाद्य सामग्री खरिद गर्दा लेबल, उत्पादन तथा उपभोग्य मिति, प्रयोग गरिएका सामग्री र गुणस्तर सम्बन्धी विवरण अनिवार्य रूपमा हेर्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र आचार्यले व्यवसायीहरू आफैँ पनि उपभोक्ता भएकाले खाद्य सुरक्षामा इमानदार हुनुपर्ने बताए । उत्पादन वा बिक्री गरिने वस्तुमा उपभोग्य मिति र अधिकतम खुद्रा मूल्य स्पष्ट उल्लेख गर्नुपर्नेमा उनले जोड दिए । सीमापारिबाट आउने तरकारीमा अत्यधिक विषादी हुने भन्ने हल्ला धेरै भए पनि भन्सार र क्वारेनटाइनबाट परीक्षणपछि मात्र वस्तु बजारमा आउने उनले बताए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले खाद्य स्वच्छता कायम गर्न व्यवसायीहरूको स्वनियमन र सीमा क्षेत्रमा कडा निगरानी आवश्यक रहेको बताए । खुला सीमा र १० गजाका कारण परीक्षणबिनै तरकारी तथा फलफूल बजारमा आइपुग्ने गरेको उनले स्वीकार गरे ।

उनले यसै महिनाभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्वास्थ्य कार्यालय, वाणिज्य कार्यालय र उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (ल्याब भ्यान) सहित बजार, हाटबजार,विद्यालय तथा कलेजका क्यान्टिन र होटलहरूको आकस्मिक अनुगमन गर्ने जानकारी दिए ।

तरकारी, फलफूल, दूध र तेलको तत्काल परीक्षण गरी कैफियत भेटिए कडा कारबाही गरिने उनको भनाइ थियो । सहायक प्रजिअ पाध्याले केही समयअघि गरिएको परीक्षणमा गाजर र तितेकरेलामा अत्यधिक विषादी भेटिएको स्मरण गराउँदै विषादीको दीर्घकालीन असरले भावी पुस्तासम्म प्रभावित हुने भएकाले खाद्य सुरक्षा र पोषणमा कुनै सम्झौता गर्न नहुने बताए ।

कार्यक्रममा सहभागीहरूले भन्सार छलेर तस्करी मार्फत भित्रिने वस्तु चुनौतीपूर्ण रहेको बताउदै यसको नियन्त्रणमा प्रशासनले पर्याप्त भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।उनीहरूले मायादेवी बजार लगायत स्थानीय बजार क्षेत्रमा बिक्री हुने तरकारीको नियमित नमुना परीक्षण गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, स्थानीय तहका अनुगमन समितिलाई सक्रिय बनाउन तथा उपभोक्तालाई सुरक्षित खाद्य छनोटबारे थप सचेतना दिनुपर्ने सहभागीहरूले आवश्यकता औँल्याएका थिए ।स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख उमा थापा,उद्योगी,व्यवसायी,स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरूको लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?