Butwal Today

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत

२२ असार २०८३, सोमबार
अ+
अ-

इस्ट रुथरफोर्ड ।

विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा समाप्त भएको सङ्केत गरेका छन् । खेलपछि भावुक देखिएका उनले अब ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको सङ्केत दिएका हुन् ।

मेटलाइफ स्टेडियममा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ३४ वर्षीय नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । तर नर्वेका अर्लिङ हालान्डको दुई गोलले ब्राजिलको पुनरागमन सम्भव हुन सकेन ।

खेलपछि ब्राजिलको ग्लोबो एस्पोर्टेसँग कुरा गर्दै नेयमारले भने, “मैले धेरै प्रयास गरेँ । अब यो समाप्त भयो । मेरो यात्रा यहीँबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो ।” अन्तिम सिटी बज्नासाथ उनी भावुक हुँदै आँसुमा डुबेका थिए भने टोलीका खेलाडीहरूले उनलाई सान्त्वना दिएका थिए ।

ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले सन् २०१० मा यही मेटलाइफ स्टेडियममा अमेरिकाविरुद्ध २–० को जितमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए । त्यसै मैदानमा सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नु उनका लागि विशेष संयोग बनेको छ ।

पछिल्ला केही वर्ष चोटपटकका कारण लगातार समस्यामा पर्नुभएका पूर्व बार्सिलोना र पेरिस सेन्ट–जर्मेनका खेलाडी हाल आफ्नो पुरानो क्लब सान्तोसबाट खेलिरहेका छन् । चोटकै कारण उनले विश्वकपका सुरुआती दुई समूह खेल गुमाएका थिए । त्यसपछि स्कटल्यान्डविरुद्धको खेलमा मैदान फर्किएका उनको प्रतियोगितामा दोस्रो तथा सम्भावित अन्तिम उपस्थिति नर्वेविरुद्ध रह्यो । अक्टोबर २०२३ यता यो उनको पहिलो अन्तर्राष्ट्रिय पुनरागमन पनि थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?