Butwal Today

माटो अमिलिएपछि युरियाबाट टाढिए किसान

२२ असार २०८३, सोमबार
अ+
अ-

पाल्पा । पाल्पा जिल्लाका किसान पछिल्ला केही वर्षयता रासायनिक मल, विशेष गरी युरिया मलको प्रयोग घटाउँदै हरियो मल, गोठेमाल र जैविक मलतर्फ आकर्षित हुन थालेका छन् ।

माटोमा अम्लीयपन बढ्दै जाँदा उर्वराशक्ति घटेको अनुभव गरेपछि किसानले युरियाको अत्यधिक प्रयोगलाई कम गर्दै वैकल्पिक विधि अपनाउन थालेका हुन् ।

रामपुर नगरपालिकाका कृषक डिलबहादुर कुमालले विगत एक दशकदेखि धानखेतीमा युरिया मल प्रयोग गर्न छाडेको बताए । “पहिले उत्पादन बढाउने लोभमा धेरै युरिया हालियो,” उनले भने, “तर त्यसले माटोको गुणस्तर बिगा¥यो ।

अहिले गोठेमाल र जैविक मल प्रयोग गर्दा माटो पनि सुधारिएको छ र उत्पादन पनि सन्तोषजनक छ ।” रम्भा गाउँपालिका–हुमिनका कृषक बोधराज अर्यालले चार वर्षसम्म अत्यधिक युरिया मल प्रयोग गर्दा सुरुमा उत्पादन बढे पनि पछि माटोको उर्वराशक्ति कमजोर भएको अनुभव सुनाए । माटो परीक्षणपछि समस्या थाहा पाएर गोठेमालको प्रयोग बढाएको उनले बताए ।

“रासायनिक मल घटाएर गोठेमाल प्रयोग गरेपछि माटोको अवस्था सुधारिएको छ,” उनले भने, “उत्पादन पनि पहिलेभन्दा राम्रो हुँदै गएको छ ।”
सङ्घीय संरचना लागू भएपछि स्थानीय तहमा कृषि प्राविधिकको प्रत्यक्ष पहुँच घट्दै जाँदा धेरै किसानले आवश्यक प्राविधिक परामर्शबिनै रासायनिक मल प्रयोग गरेको कृषि क्षेत्रका जानकारहरूको भनाइ छ । विशेष गरी युरिया मलको असन्तुलित प्रयोगका कारण पाल्पाका अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन बढेको विभिन्न अध्ययनले देखाएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पा शाखाकी प्रमुख सिर्जना पाण्डेका अनुसार रासायनिक मल सन्तुलित रूपमा प्रयोग नगर्दा माटोको गुणस्तरमा प्रतिकूल असर परेको हो । युरियासँगै डिएपी र पोटासको सन्तुलित प्रयोग आवश्यक भए पनि अधिकांश किसानले आवश्यकताभन्दा बढी युरिया प्रयोग गरेका कारण समस्या बढेको उनको भनाइ छ ।

“माटो परीक्षण, कृषि चुनको प्रयोग तथा सन्तुलित मल व्यवस्थापन प्रभावकारी रूपमा हुन नसक्दा माटोमा अम्लीयपन बढेको हो,” उनले भनिन्, “यही कारण किसान अहिले युरिया मलको प्रयोग घटाउँदै गएका छन् ।”

तिनाउ गाउँपालिका–कोलडाँडाका कृषक सन्तवीर गाहाले पछिल्ला चार वर्षदेखि धैँचा (हरियो मल) प्रयोग गर्दै आएको बताए । उनका अनुसार हरियो मलसँगै सीमित मात्रामा डिएपी र पोटास प्रयोग गर्दा पनि धान उत्पादनमा कमी आएको छैन ।

“पहिले जति युरिया हाल्थ्यौँ, अहिले त्यसको आवश्यकता नै पर्दैन,” उनले भने । “हरियो मलले माटोको उर्वराशक्ति जोगाउनुका साथै उत्पादन पनि राम्रो बनाएको छ ।”

माथागढी गाउँपालिका–चिदीपानीका ज्येष्ठ कृषक मानबहादुर रानाका अनुसार माडी फाँट क्षेत्रमा परम्परादेखि नै धैँचा छर्ने चलन छ । “हरियो मलले माटोलाई हलुका, मलिलो र उत्पादनशील बनाउँछ,” उनले भने । “त्यसैले यहाँ धानखेतीमा युरियाको प्रयोग अन्य ठाउँको तुलनामा कम हुन्छ ।”

माथागढी गाउँपालिका–रुप्सेका कृषक टोपबहादुर दर्लामीले यस वर्ष सात रोपनी क्षेत्रफलमा हरियो मल प्रयोग गरी युरिया नहालिकनै धान रोपेको जानकारी दिए ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सन्तोषकुमार चौधरीले सरकारले जैविक तथा प्राङ्गारिक खेतीलाई प्राथमिकता दिएकाले परियोजनामार्फत हरियो मल, जैविक मल र प्राङ्गारिक खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको बताए । “माटोको दीगो उर्वराशक्ति कायम राख्न रासायनिक मलमा निर्भरता घटाउनु आवश्यक छ,” उनले भने ।

माटो परीक्षण गर्ने किसानको सङ्ख्या बढेसँगै युरिया मलको माग पनि घट्न थालेको कृषि सामग्री कम्पनीले जनाएको छ । शाखा प्रमुख पाण्डेका अनुसार यस वर्ष पाल्पामा करिब १ हजार ५ सय ५० मेट्रिक टन युरिया, १ हजार मेट्रिक टन डिएपी र १ सय ५० मेट्रिक टन पोटास बिक्री गर्ने लक्ष्य राखिएको छ ।

हालसम्म १ हजार मेट्रिक टन युरिया, ४ सय ३६ मेट्रिक टन डिएपी र ८३ मेट्रिक टन पोटास बिक्री भएको छ । गत आर्थिक वर्ष २ हजार मेट्रिक टन युरिया बिक्री गर्ने लक्ष्य राखिए पनि १ हजार १ सय ८६ मेट्रिक टन मात्रै बिक्री भएको थियो । त्यति बेला ६ सय ३७ मेट्रिक टन डिएपी र ९२ मेट्रिक टन पोटास बिक्री भएको कम्पनीको तथ्याङ्क छ ।

शाखा प्रमुख पाण्डेका अनुसार यस वर्ष मलको पर्याप्त मौजदात भए पनि किसानको बढ्दो सचेतना, माटो परीक्षण र हरियो मलप्रतिको आकर्षणका कारण युरिया मलको खपत अघिल्ला वर्षको तुलनामा अझ घट्ने अनुमान गरिएको छ ।

कृषि विज्ञहरूका अनुसार दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति जोगाउन र उत्पादनलाई दिगो बनाउन रासायनिक मलको सन्तुलित प्रयोगसँगै हरियो मल, गोठेमाल, जैविक मल तथा कृषि चुनको प्रयोगलाई व्यापक बनाउन आवश्यक छ ।

किसानमा बढ्दो चेतना र जैविक खेतीप्रतिको आकर्षणले पाल्पामा दिगो कृषि प्रणाली विकासको सकारात्मक सङ्केत देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?