Butwal Today

वर्षौँदेखि थन्किएको प्रयोगशाला खुल्दै

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

सल्यान । सल्यानको कपुरकोटमा वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

आवश्यक जनशक्ति, उपकरण र प्राविधिक व्यवस्थापन गरेर कपुरकोटका साथै पूर्वी सुर्खेतको हर्रेमा विषादी परीक्षण सेवा सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

कर्णालीको प्रमुख कृषि उत्पादन क्षेत्रमध्ये एक सल्यानमा उत्पादन हुने तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गर्न तथा बाहिरी जिल्लाबाट भित्रिने कृषिजन्य उपजको समेत परीक्षण गर्न प्रयोगशाला सञ्चालन गर्न लागिएको हो ।

कपुरकोट कर्णालीका प्रमुख कृषि उपज सङ्कलन तथा व्यापारिक केन्द्र भएकाले यहाँ विषादी परीक्षण सेवा सञ्चालनमा आए किसान, व्यवसायी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कपुरकोट र हर्रेमा आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार दुवै प्रयोगशालामा तीन–तीन जना कर्मचारी परिचालन गर्ने तयारी छ ।

“प्रयोगशालाका लागि आवश्यक जनशक्ति माग गरिएको छ । उपकरण तथा सामग्रीसमेत सम्बन्धित स्थानमा पठाइसकिएको छ,” उनले भने, “सामग्री जडानलगायतका काम पूरा भएपछि सेवा सुरु हुन्छ ।”

कपुरकोटमा प्रयोगशाला स्थापना भए पनि लामो समयदेखि नियमित सञ्चालन हुन नसक्दा भवन र संरचना प्रयोगविहीन अवस्थामा थिए । जनशक्ति र उपकरणको अभावमा सेवा सञ्चालन हुन नसकेको अवस्थामा प्रदेश सरकारले अहिले आवश्यक व्यवस्थापन अघि बढाएको हो ।

कर्णाली प्रदेशमा हाल एकीकृत कृषि प्रयोगशाला सञ्चालनमा छ । उक्त प्रयोगशालाअन्तर्गत बीउ बिजन परीक्षण, माटो परीक्षण तथा बाली संरक्षणसम्बन्धी सेवा सञ्चालन हुँदै आएका छन् । कपुरकोट र हर्रेमा सञ्चालन गर्न लागिएका विषादी परीक्षण प्रयोगशाला पनि यही संरचनाअन्तर्गत रहनेछन् ।

एकीकृत कृषि प्रयोगशालामा १८ जनाको स्वीकृत दरबन्दी रहेकामा हाल १४ जना स्थायी कर्मचारी कार्यरत छन् । चार दरबन्दी रिक्त छन् । कार्यरतमध्ये आठ जना प्राविधिक कर्मचारी रहेको जनाइएको छ । सीमित जनशक्तिले विभिन्न शाखाको जिम्मेवारी सम्हाल्दै आएका कारण थप दुई स्थानमा सेवा विस्तार गर्दा जनशक्ति व्यवस्थापन चुनौती बन्ने देखिएको छ ।

सल्यानमा व्यावसायिक रूपमा उत्पादित तरकारी तथा फलफूल कर्णालीका विभिन्न जिल्लासँगै नेपालगन्ज, बुटवल, काठमाडौँलगायतका बाह्य बजारमा समेत पुग्ने गरेका छन् । विशेष गरी कपुरकोट क्षेत्र तरकारी उत्पादन तथा सङ्कलनका लागि महत्त्वपूर्ण मानिन्छ ।

कृषि उपज बजारमा पठाउनुअघि त्यसमा विषादीको अवशेषको अवस्था परीक्षण गर्न सकिने व्यवस्था भए उपभोक्ताको खाद्य सुरक्षासँगै किसानको उत्पादनप्रतिको विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसै गरी कर्णाली प्रवेश गर्ने प्रमुख नाकामध्ये कपुरकोट क्षेत्रमा बाहिरी जिल्लाबाट भित्रिने तरकारी तथा फलफूलको समेत परीक्षण गर्न सकिनेछ ।

विषादी परीक्षणको व्यवस्था नहुँदा बजारमा बिक्री हुने कृषिजन्य वस्तुमा विषादीको अवशेषको अवस्था यकिन गर्न कठिन हुने गरेको छ । प्रयोगशाला सञ्चालनमा आएपछि कृषि उपजको गुणस्तर परीक्षण र सुरक्षित उपभोगका लागि आवश्यक आधार तयार हुने कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।

कर्णाली प्रदेश सरकारले प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउने लक्ष्यसहित आर्थिक वर्ष २०७४/७५ देखि नै कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रदेश सरकार गठन भएपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले समेत कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने निर्णय गरेको थियो ।

प्रदेश सरकारले प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तुमा रासायनिक विषादीको प्रयोग घटाउने तथा बाहिरबाट भित्रिने विषादीयुक्त कृषि उपजलाई निरुत्साहित गर्ने नीति लिएको छ । सोही उद्देश्यअनुसार प्राङ्गारिक कृषि ऐन, प्राङ्गारिक उत्पादन तथा प्रशोधन मापदण्ड, सहभागितामूलक गुणस्तर निर्धारण निर्देशिका, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिकालगायतका कानुनी तथा नीतिगत दस्ताबेज तयार गरिएका छन् ।

तर अर्ग्यानिक प्रदेश बनाउने घोषणा भएको करिब एक दशक पुग्न लाग्दासमेत अभियानले अपेक्षित गति लिन सकेको छैन । सरकार परिवर्तनसँगै प्राथमिकता फेरिँदा अर्ग्यानिक कृषि प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको आलोचना हुँदै आएको छ ।

प्रदेश र सङ्घीय सरकारबाट अर्ग्यानिक कृषि प्रवर्द्धनका नाममा बर्सेनि ठुलो बजेट विनियोजन हुँदै आए पनि उत्पादनको परीक्षण, प्रमाणीकरण, बजार व्यवस्थापन र अनुगमनका लागि आवश्यक पूर्वाधार पर्याप्त बन्न सकेको छैन । विषादी परीक्षण प्रयोगशाला लामो समय प्रयोगविहीन रहनु पनि त्यसैको एउटा उदाहरणका रूपमा लिइएको छ ।

कृषि उत्पादनलाई अर्ग्यानिक बनाउने लक्ष्य पूरा गर्न घोषणा र बजेटसँगै परीक्षण तथा प्रमाणीकरणको भरपर्दो प्रणाली आवश्यक रहेको कृषि क्षेत्रका सरोकारवालाको भनाइ छ । कपुरकोट र हर्रेमा विषादी परीक्षण सेवा सञ्चालनमा आएमा कर्णालीको कृषि उपजको गुणस्तर परीक्षण र अर्ग्यानिक कृषि अभियानलाई व्यवहारमा लैजान सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?